पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल : गण्डकी सेमिफाइनलमा

आइतबार, २ चैत, २०८१
डिजिटल संस्करण

घरेलु टोली गण्डकी प्रदेश प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता ०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ। 

गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन एवं कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्ड हलमा आइतबार भएको प्रतियोगितामा अपराजित गण्डकीले लगातार दुई खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

प्रतियोगिताअन्तर्गत पहिलो खेलमा गण्डकीले सुदूरपश्चिमलाई ३५–१७ गोलले पराजित गरेको थियो। गण्डकीका लागि पवन छन्त्यालले सर्वाधिक ११ र सुदूरपश्चिमका लागि सरोजकुमार सिंहले ६ गोल गरेका थिए। 

दोस्रो खेलमा एपिएफले लुम्बिनीलाई ३०–९ को फराकिलो गोलअन्तरले पराजित गर्यो। एपिएफका लागि नितेश धिमाल र लुम्बिनीका लागि मनोज थारूले समान पाँच-पाँच गोल गरेका थिए।

तेस्रो खेलमा गण्डकीले कर्णालीलाई ४२–१६ को फराकिलो अन्तरले पाखा लगायो। गण्डकीका लागि प्रलेश गुरुङले १२ गोल गरेका थिए। दोस्रो जितसँगै गण्डकीले एक खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएको हो। यस्तै, चौथो खेलमा कोशीले सुदूरपश्चिमलाई २२–१९ गोलले पाखा लगायो। 

यसअघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले गरेका थिए। लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसँगै दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबको सहभागिता रहेको आयोजक संघका अध्यक्ष केशव पाठकले जानकारी दिए। 

प्रतियोगिताको उपाधि विजेताले एक लाख, उपविजेताले ५० हजार र तेस्रोले ३० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक संघका उपाध्यक्ष गिरमान गुरुङले जानकारी दिए। 

उत्कृष्ट गोलरक्षक, खेलाडी र सर्वाधिक गोलकर्ताले जनही पाँच-पाँच हजारसँगै ट्रफी र प्रमाणपत्र पाउनेछन्। 
 

सुझावित समाचार