सांसदहरूले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बाल सुधारगृहमा साना-ठुला उमेर समूहकालाई एकै ठाउँ राखिएकाले पनि वेलावेला तनाव हुने गरेको भन्दै सांसदहरूले सुरक्षित र व्यवस्थित बनाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद रोशन कार्कीले सरकारले बाल सुधारगृह बनाउन खोजेको हो कि ‘बाल बिगार केन्द्र’ भनेर प्रश्न गरिन् ।
महिला तथा सामाजिक मामिला समितिले महिला मन्त्रालय र सम्बन्धित पदाधिकारीलाई बोलाएर निर्देशन दिएको छ । तर, सरकारले कुनै पनि प्रकारको ध्यान दिएको छैन । देशका विभिन्न ठाउँका बाल सुधारगृहको अवलोकन गर्दा त्यहाँ न्यूनतम मापदण्ड पालना नभएको, लागुपदार्थ सेवन हुने गरेको र खाना पनि राम्रो नहुने गरेको भन्दै उक्त समस्या समाधान हुनुपर्ने बताइन् ।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जेलका कैदीबन्दी बिरामी भए हुनुको कारणबारे सरकारले जानकारी दिनुपर्ने बताए । ‘२९ हजार पाँच सय कैदीबन्दीमध्ये १८ हजार पाँच सय बिरामी भएको सूचना सार्वजनिक भएको छ । के भएको हो, किन यस्तो भएको हो सदनमा सम्बन्धित निकायले प्रस्ट पार्न माग गर्दछु,’ उनले भने ।
सांसद दीपा शर्माले बाल सुधारगृहमा १० वर्षदेखि ३० वर्षसम्मका बालबालिकालाई एकै ठाउँमा राखिएकाले झगडा र तनाव हुने गरेको बताइन् । त्यसैले उनीहरूलाई छुट्टाछुट्टै राख्ने व्यवस्थाका लागि उनले माग गरिन् ।
अर्की सांसद शान्ति श्रेष्ठले पनि बाल सुधारगृहलाई व्यवस्थित र शान्ति, सुव्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइन् । शुक्रबार होलीको विषयमा दुई पक्षबिच भएको झडपले बाँकेको डुडुवास्थित जयन्दु बाल सुधारगृहमा शनिबार दिनभर तनाव भएको थियो ।