घरपझोङ सडकमा कमसल कालोपत्र

आइतबार, ३ चैत, २०८१
डिजिटल संस्करण

मुस्ताङको घरपझोङ गाउँपालिकाका– ५ वटै वडा जोड्ने रिङरोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ । घरपझोङ रिङरोड सडकअन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी गरेको गुनासो बढेपछि घरपझोङ– ५ को वडा कार्यालयले पूर्वाधार विकास कार्यालयलाई स्पष्टीकरण मागेको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले, छैरो र चिमाङलगायत आधा दर्जन गाउँ जोड्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत घरपझोङ रिङरोड सडक ०७६ साल कात्तिक २१ गते बन्दना भगवती जेभिसँग २१ करोड ४३ लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । रिङरोड सडकअन्तर्गत १० किलाेमिटर सडकमध्ये नयाँ ट्र्याक खोल्ने र जोमसोमदेखि ढुम्बासम्म ५.५ किलाेमिटर दूरीमा कालोपत्र गर्ने योजना परेको थियो ।

सडकको नाली निर्माणसहित आठ मिटर चौडा सडकमा जोमसोम–ठिनी–ढुम्बासम्म पाँच किलाेमिटर दूरीमा प्रिमिक्स कालोपत्र गरिने योजना थियो । सम्झौता अवधि ०७७ साल माघ महिनासम्म तोकिएको घरपझोङ रिङरोड सडकको पाँचपटकभन्दा धेरै म्याद थप भइसकेको छ ।

जीर्ण आयोजनाको सूचीमा परेको घरपझोङ रिङरोड सडकमा निर्माणमा निर्माण कम्पनीले चरम ढिलासुस्ती देखाएका कारण हालसम्म पनि रिङरोड सडक सम्पन्न विलम्ब भइरहेको छ । निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालयको पटक-पटकको ताकेतापछि जसोतसो घरपझोङ रिङरोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकको तीन किलाेमिटर दूरीमा गत मंसिरमा कालोपत्र गरिएको थियो । अहिले जोमसोम–ठिनी जाने सडकको कालोपत्र कमसल र उप्किएको भन्दै त्यस क्षेत्रका स्थानीयले असन्तुष्टि जनाइरहेका छन् ।

स्थानीयले अख्तियारी प्राप्त निकायले प्राविधिक अनुमगन नगरेकाले कालोपत्र सडक कमसल हुँदा उप्किन पुगेको भन्दै स्थानीय सरोकारवालाले गुनासो गर्न थालेका हुन् । घरपझोङ रिङरोड सडकअन्तर्गत गत मंसिरमा तीन किलाेमिटर दूरी कालोपत्र गरेर चिसो बढेको भन्दै निर्माण कम्पनीले सडक स्तरोन्नतिकार्य स्थगित गरेको थियो । निर्माण कम्पनीले काम स्थगित गरेको तीन महिना बितिसक्दासमेत अहिले पनि रिङरोड सडक निर्माणको काम सुरु हुन सकेको छैन ।

रिङरोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकमा गरिएको कालोपत्र सम्बन्धमा जनगुनासो बढेसँगै घरपझोङ– ५ ठिनीको वडा कार्यालयले गत २१ मंसिरमा पूर्वाधार विकास कार्यालयसँग स्पष्टीकरण माग गरेको हो । त्यहाँका वडाध्यक्ष प्रदीप थकालीले हस्ताक्षर गरेको पत्रमा जोमसोम–ठिनी सडकको कालोपत्र गुणस्तरहीन र अत्यन्तै कमजोर भएको उल्लेख गरिएको छ ।

पत्रमा यस कालोपत्र सडकको गुणस्तरलाई लिएर स्थानीयवासी व्यापक असन्तुष्टि रहेकाले सो सडकको कालोपत्र गुणस्तरका सम्बन्धमा यथार्थ जानकारी गराउन र सडकलाई कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्ने सम्बन्धमा स्पष्ट जवाफ पेस गर्नसमेत वडा कार्यालयले ध्यानाकर्षण गराएको पत्रमा उल्लेख गरिएको छ ।

यता, पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर घनश्याम रोक्कामगरले जोमसोम–ठिनी कालोपत्र सडकमा समस्या भएको देखिएमा पुनः समाधान गर्न सकिने बताए । इन्जिियर रोक्कामगरले वडा कार्यालयको पत्र प्राप्त भएको र त्यसको जवाफ लेखेर पठाइएको जानकारी दिए । उनले उक्त सडक पाँच सेन्टिमिटर मोटाइको प्रिमिक्स कालोपत्र भएको र त्यसमा कुनै त्रुटि भएको प्राविधिक अध्ययनमा देखिएमा करेक्सन गर्न सकिने बताए । उनले भने, ‘ठेक्का सम्झौता र सर्तहरू निर्माण कम्पनीले कार्यान्वयन गरेको छ–छैन हामीले हेर्ने हो, सर्त पालना नभएको देखिएमा पुनः त्यहाँ कालोपत्र गराउन लगाइनेछ ।’

सूचना अधिकारी इन्जिनियर रोक्कामगरले रिङरोड सडकमा ठेकेदारले अनुकूल समयमा कालोपत्र नगरेको उल्लेख गरे। ‘सायद तापक्रम नपुगेकाले पनि समस्या आएको हुन सक्छ, अनुकूल समयमा काम गरिनुपर्थ्याे,’ उनले थपे, ‘काम गर्छु भनेर आएपछि नगर भन्न मिलेन, यसैले ठिनी गाउँसम्म कालोपत्र गर्न दियौँ ।’ मुस्ताङको घरपझोङ रिङरोड सडकको ६ वर्षमा भौतिक प्रगति ७६ प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रिङरोड सडकमा अझै सडक संरचना, नाली निर्माण, सडक फिनिसिङलगायतका कार्य बाँकी रहेको छ । घरपझोङ रिङरोड बनेपछि मुख्य सडकबाट ओझेलमा परेका ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङलगायत आधादर्जन गाउँका कृषि उपजको बजारीकणमा निकै नै सहज पुग्ने देखिन्छ ।

सुझावित समाचार