अनुसन्धान गर्ने जुम्लाको बागवानीमै पाइँदैन आलुको बिउ

आइतबार, २ चैत, २०८१
डिजिटल संस्करण

जुम्लाको चन्दननाथ नगरपालिकामा अहिले आलु रोप्ने सिजन हो । तर, आलुको विषयमा अनुसन्धान गर्ने बागवानी अनुसन्धान केन्द्र राजिकोटमा समेत आलुको बिउ छैन । बागवानीमा समेत बिउ नपाउँदा बारी बाँझै राख्नुपरेको कृषकको गुनासो छ । चन्दननाथ नगरपालिका– १, आचार्यवाडाका जयकृष्ण आचार्यले १० किलो आलुको बिउ जुम्लामा पाउन नसकिएको बताए । उनले भने, ‘जुम्लामा अहिले आलु अभाव छ । विकट भूभागमा काहीँकतै अलि–अलि होला, तर पर्याप्त छैन । आलुको बिउ पाउन पनि कृषकलाई समस्या भएको छ ।’

बागवानी अनुसन्धान केन्द्र राजिकोटका कृषि प्राविधिक सहायक हरि सुवेदीका अनुसार बागवानीमा पाँच टन आलु उत्पादन भएको थियो । बागवानीमा पाँच जातको आलु उत्पादन हुने उनले बताए । जुम्ली लोकल, खुमल सेतो, डेजिरे, जनकदेव र कुफ्रिज्योति नामको आलु उत्पादन हुने गरेको छ । उनले भने, ‘प्रतिकिलो ५० रुपैयाँमा दुई टन बिउ आलु बिक्री गरेका छौँ । बाँकी समुदायमा आधारित आलुखेती गर्ने गरेका छौँ । बाँकी बिउ आलु त्यही रोप्न बिक्री–वितरण गरेका छैनौँ ।’ 

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लामा आलु उत्पादन क्षेत्र वृद्धि हुँदै गएको छ । उनका अनुसार आर्थिक वर्ष ०८०÷०८१ मा दुई हजार दुई सय ४५ हेक्टर क्षेत्रफलमा आलुखेतीबाट ३४ हजार चार सय ५० मेट्रिकटन उत्पादन भएको थियो । त्यसैगरी, ०८१÷०८२ मा दुई हजार दुई सय ९० हेक्टर क्षेत्रफलमा खेती हुँदा ३५ हजार नौ सय ३० मेट्रिकटन उत्पादन भएको छ ।  

आलु उत्पादन हरेक वर्ष वृद्धिसँगै खपत पनि बढ्दा बिउ आलु पाउन समस्या भएको उनको भनाइ छ । प्रमुख अधिकारीले भने, ‘आलु बजारीकरणमा अनुदान छ । तर, जुम्लामा २० क्विन्टल आलु संकलन गर्न मुस्किल छ । यहाँका कृषकले २० क्विन्टल आलु संकलन नगरेकै कारण अनुदान रकम कार्यान्वयनमा ल्याउन सकिएको छैन ।’

सिजनमा आलु धेरै उत्पादन भए पनि अफ सिजनमा बाहिर जिल्लाबाट आलु ल्याउनुपर्ने अवस्था छ । त्यसकारण यहाँ आलु उत्पादनमा वृद्धि गर्नुका साथै भण्डारको पनि व्यवस्थापन गर्नुपर्ने उनले बताए । आलुखेतीको क्षेत्र विस्तार प्रवर्द्धन र बजारीकरणका लागि गत साता चन्दननाथ नगरपालिका– ५ को मुख्य बजार कृष्णमन्दिर प्रांगणमा बिउ आलु मेला प्रदर्शनी गरिएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताए । उनले भने, ‘कृषि विकास कार्यालय, भूमि समस्या समाधान आयोग जिल्ला समिति जुम्ला, बागवानी अनुसन्धान केन्द्र राजिकोट र नेपाल पत्रकार महासंघ शाखा जुम्लाकोे बिउ आलु प्रदर्शनी मेला गरिएको हो ।’

जिल्लाका आठवटै स्थानीय तहको उच्च भागमा फल्ने आलु संकलन गरी कृष्णमन्दिर प्रांगणमा बिउ आलु प्रदर्शनी मेला गरिएको भूमि समस्या समाधान आयोग, जिल्ला समिति जुम्लाका विज्ञ सदस्य सुमन आचार्यले बताए । उनले भने, ‘जुम्लामा विशेष गरी दुई सिजन, तीनमहिने र ६ महिनामा फल्ने आलु रहेको छ । आलुको बजारीकरण र वृद्धि गर्नका लागि कृषकलाई प्रोत्साहित गर्न प्रदर्शनी मेला गरिएको हो ।’

तिलाको ढिपु, हिमाको पाथरखोला, सिँजाको जुडु भाडगाउँ, कनकासुन्दरीको बोता, पातारासीको तिर्ख, तातोपानीको टोप्लालगायतको उच्च भूभागमा उत्पादन हुने आलु संकलन गरिएको आयोगका विज्ञ सदस्य आचार्यले बताए ।

यहाँ विशेष गरी दुई सिजनमा तीनमहिने र ६ महिनामा फल्ने आलु रोप्ने कृषि तालिका रहेको छ । आलु उत्पादन मौसममा मूल्य कम हुने र बेमौसममा मूल्य बढी हुने गर्छ । मूल्यवृद्धि भएको समयमा आलु अभाव हुने गरेको विज्ञ सदस्य आचार्यले बताए । उनले भने, ‘अहिले बेमौसममा आलुको मूल्य उच्च ६०–७० रुपैयाँ पुगेको देखिन्छ । तर, कृषकले उत्पादनको परिश्रमअनुसार मूल्य पाउने गरेका छैनन् । कृषकको लागत, परिश्रम र दूरीका आधारमा पनि मूल्य निर्धारण हुन आवश्यक छ ।’ 

See More On

सुझावित समाचार