मुग्लिन–पोखरा सडक : पूर्वी खण्डमा ७३ किलोमिटर कालोपत्र

शुक्रबार, ३० फागुन, २०८१
डिजिटल संस्करण
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डमा ७३ किलोमिटर कालोपत्र

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली–डुम्रेको घाँसीकुवा क्षेत्र

मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३.११ किलोमिटर कालोपत्र सकिएको छ। तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३.११ किलोमिटर दूरीमा कालोपत्र भएको हो।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४.९८ र दुई लेनतर्फ ३.१५ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ। पाण्डेले भने, ‘हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्र भएको छ।’

गत फागुन १६ गतेसम्म यस खण्डको भौतिक प्रगति ७८.९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५९.२५ प्रतिशत छ। पाण्डेका अनुसार यस खण्डमा चार लेनतर्फ २०.१६ किलोमिटर दूरीमा अन्तिम कालोपत्रसमेत भइसकेको छ भने दुई लेनतर्फ १२.३२ किलोमिटर खण्डमा अन्तिम कालोपत्र सकिएको छ।

पूर्वी खण्डअन्तर्गत यतिवेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्र सुरु भएको छ। दमौलीस्थित व्यास नगरपालिका– २ बागबजारमा एकतर्फी कालोपत्र सकेर अर्कोतर्फ कालोपत्रका लागि सडक सम्याउने काम भइरहेको छ। पूर्वी खण्डमा ०७७ माघ १७ गते सम्झौता भई ०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ।

०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु. ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ। रासस

सुझावित समाचार