जग्गा ओगटेर उद्योग सञ्चालन नगर्ने तीन उद्योगसँगको सम्झौता रद्द

शुक्रबार, १ चैत, २०८१
डिजिटल संस्करण
  • सम्झौता रद्द गर्ने निर्णयपछि तीनवटै उद्योगले गुहारे सर्वोच्च अदालत, औद्योगिक क्षेत्रको पक्षमा फैसला आएसँगै संरचना लिलामीको पनि खुल्यो बाटो

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडाले उद्योग सञ्चालन नगरी जग्गा मात्रै ओगट्ने तीनवटा उद्योगसँगको सम्झौता रद्द गरेको छ । उद्योग सञ्चालन गर्ने भन्दै हेटौँडा औद्योगिक क्षेत्रभित्रको जग्गा सम्झौता गरी संरचना निर्माण गरे पनि जग्गा मात्रै ओगटेर बसेपछि औद्योगिक क्षेत्र व्यवस्थापनले ती उद्योगसँगको सम्झौता रद्द गरेको हो ।

सम्झौता रद्द गरिएका उद्योगमा नाथ फुड्स इन्डस्ट्रिज, लक्ष्मी पेन्ट्स र सनराइज कन्टेनर प्रालि छन् । उनीहरूले उद्योग सञ्चालन गर्ने भन्दै लामो समयदेखि जग्गा भाडामा लिएर पनि सम्झौताअनुसार उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द गरिएको कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए ।

नेपालका अनुसार ती उद्योगले ०७२ र ०७३ सालमा उद्योग स्थापना गर्न भन्दै जग्गा भाडा लिएका थिए । सम्झौता गरी लामो समयसम्म पनि उद्योग सञ्चालनमा नल्याएर जग्गा मात्रै ओगटेर बसेपछि सम्झौता रद्द गर्नुपरेको उनको तर्क छ । उद्योगसँग भएको सम्झौता २७ माघमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन सञ्चालक समितिको बैठकले रद्द गर्ने निर्णय गरेको थियो । 

सम्झौता रद्द गर्ने निर्णय भएपछि तीनवटै उद्योग सर्वोच्च अदालत पुगेपछि प्रक्रिया केही लम्बिएको सूचना अधिकारी नेपालले बताए । 

अदालतले औद्योगिक क्षेत्रको पक्षमा निर्णय गरेसँगै ती उद्योग सञ्चालनका लागि भन्दै बनेका संरचनाको लिलामी प्रक्रियासमेत अगाडि बढाइएको छ । यस्तै, उक्त स्थानमा नयाँ उद्योग स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । तीन उद्योगले उद्योग सञ्चालन गर्न हेटौँडा कपडा उद्योग र विस्तारित औद्योगिक क्षेत्रको जग्गा भाडाका लागि सम्झौता गरेका थिए । 

जसमा नाथ फुड्सले ७.७५, लक्ष्मी पेन्ट्सले ६.३४ र सनराइज कन्टेनरले १०.०३ रोपनी जग्गा भाडामा लिने गरी सम्झौता गरेको सूचना अधिकारी नेपालले जानकारी दिए । हाल हेटौँडा औद्योगिक क्षेत्रभित्र एक सय २७ उद्योग रहेकामा एक सय १५ वटा उद्योग मात्रै सञ्चालनमा रहेका नेपालको भनाइ छ ।

See More On

सुझावित समाचार