आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेचीनगरस्थित काँकडभिट्टाको खेलमैदानमा बुधबार आयोजकले धरान एफसीलाई सडन डेथमा ५–४ ले पराजित गर्दै आयोजक टोली अन्तिम दुईमा पुगेको हो । दुवै टोलीले निर्धारित समयमा १–१ बराबरी खेलेपछि फाइनल पुग्ने टोलीको निर्णय टाइब्रेकर र सडन डेथबाट भएको हो ।
आयोजक काँकडभिट्टाले उपधिका लागि बिहीबार हुने चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबिचको विजेताविरुद्ध खेल्नेछ । फाइनल विजेताले १० लाख र उपविजेताले पाँच लाख पाउनेछन् । निर्धारित समयको खेल र टाइब्रेकरमा समेत धरानले नै अग्रता लिएको थियो । तर, अन्तिममा दुई पेनाल्टी चुकाउँदा धरान सेमिफाइनलबाटै बाहिरियो ।
टाइब्रेकरमा धरानका मिलन राई, सविन राई, प्रज्वल थापा, अजय विष्टले गोल गरेका थिए । धरानबाट पाँचौँ टाइब्रेकर प्रहार गर्न आएका सुरज जिमी र सडन डेथमा रोमन लिम्बू गोल गर्न सकेनन् । रोमनको प्रहार काँकडभिट्टाका गोलरक्षक विश्वास चौधरीले रोकेका थिए । काँकडभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू, विवेक गुरुङ र फ्यांकलिन टलाले गोल गरे । हेमन्त लिम्बूको प्रहार पोलमा लागेको थियो ।
खेलको ३४औँ मिनेटमा सुरज रसाइलीले धरानलाई १–० को अग्रता दिलाएका थिए । उनले कप्तान मिलन राईको पासमा गोल गरेका हुन् । हेमन्त लिम्बूले ६९औँ मिनेटमा काँकडभिट्टालाई १–१ को बराबरीमा ल्याए ।
धरानले राम्रो खेल्यो
मुन्ना सुब्बा, प्रशिक्षक, काँकडभिट्टा
सेमिफाइनलको नतिजा हेर्दा हामी सफल भयौँ, तर सोचेजस्तो खेल भएन । धरानले हाम्रो तुलनामा राम्रो खेल खेल्यो । धरानले दुवैपटक अग्रता लियो । उनीहरू खेलमा फर्कने आशा लिएका थियौँ । घरेलु समर्थकको साथ बलियो छ । मच्छिन्द्र वा चर्च ब्वाइजमध्ये एकसँग फाइनलमा खेल्न तयार छौँ ।
खेलाडीले दबाबमा खेले
हेम गुरुङ, प्रशिक्षक, धरान
खेल हाम्रो पक्षमा थियो । खेलमा अग्रता पनि लियौँ । सेटपिसमा रहेका डिफेन्सले राम्रो गर्न सकेनन् । केही प्रहार पोस्टमा लाग्दा असफल भयौँ । पेनाल्टीमा पनि हाम्रो अग्रता थियो । यसलाई अन्तिमसम्म कायम राख्न सकेनौँ । खेलाडीले दबाबमा खेले । काँकडभिट्टासँगको खेलमा भाग्यले साथ दिएन ।