कैलालीको धनगढीमा आगामी ७ चैतमा हुने छैटाैँ सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१ को दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरेको हो।
सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी मनोनयनमा परेका छन्। जोशी बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका सदस्य थिए। उनी अहिले एसियाली खेलकुदअन्तर्गत मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा छन्।
पौडीका सिंह वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका थिए। सन् २०१३ को दक्षिण एसियाली खेलकुद सागमा बनेको कीर्तिमानी उनले भंग गरेका हुन्। पौडीतर्फ राष्ट्रिय प्रतियोगिताहरूमा सुदूरपश्चिम प्रदेशलाई पदक जिताउने उनी एक्ला खेलाडी हुन्। उनले यस वर्ष २०८१ मा दुई स्वर्ण, दुई रजत र तीन कांस्य गरी ७ पदक जितेका छन्।
क्रिकेटका धामी यू–१९ एसिया कपमा अफगानिस्तानमाथि जित दर्ता गराउन उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टिमका कप्तान हुन्। सिनियर टोलीबाट क्यानडाविरुद्ध डेब्यु खेलमा उनले तीन विकेट लिएका थिए।
सुदूरपश्चिम आइकन महिला विधामा कराँतेकी मनीषा बोहरा, कबड्डीकी मनीषा जोशी र क्रिकेटकी साबित्री धामी मनोनयनमा परेका छनोट समितिका संयोजक सीताराम ओझाले जानकारी दिए। बोहरा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन्। उनी ५६औँ राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण जित्ने सुदूरपश्चिम प्रदेशका एक मात्रै खेलाडी हुन्।
कबड्डीकी जोशी इरानमा भएको छैटाैँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जित्ने नेपाली टोलीकी सदस्य हुन्। उनी एसियाली खेलकुदअन्तर्गत मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा पर्न सफल भएकी छिन्।
क्रिकेटकै साबित्री धामी १९ वर्षमुनिको सुशील कोइराला मेमोरियल क्रिकेटमा उत्कृष्ट खेलाडी भएकी थिइन्। उनी मैयादेवी महिला क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यान भएकी थिइन्।
खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले दुवै विधामा अवार्ड पाउने खेलाडीलाई जनही २०-२० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिए। छैटाैँ संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने उनले बताए।
सुदूरपश्चिम आइकन महिला तथा पुरुषसँगै उत्कृष्ट खेलाडी (पुरुष र महिला), उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विधामा अवार्ड प्रदान गरिने मञ्चका कोषाध्यक्ष नवराज पनेरूले जानकारी दिए। उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५-३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने उनले बताए।