सल्यानको दार्मा गाउँपालिकाले बिमित भैँसीलाई सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले पशुपालन व्यवसायमा किसानलाई आकर्षण गराउन र दुध उत्पादन बढाउन भैैँसीलाई सुत्केरी प्रोत्साहन भत्ता वितरण कार्यक्रम ल्याएको हो।
आर्थिक वर्ष ०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार १०८ किसानलाई अनुदान रकम भुक्तानी गरेको दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपा पौडेलले जानकारी दिइन् । पालिकामा १२२ किसानले अनुदानका लागि निवेदन दिएकोमा स्थलगत अनुगमन गर्दा १०८ किसानले मात्र बिमित भैँसी पालिरहेको देखिएपछि उनीहरूलाई प्रतिकिसान पाँच हजारका दरले पाँच लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको उनले बताइन्।
एउटा दुधालु भैँसी पालन गरेको हुनुपर्ने, पशु बिमा गरेको हुने पर्ने, दुध उत्पादक सहकारी संस्था, समूह, समितिमा आबद्ध भएको हुनु पर्ने जस्ता छनौटका आधार राखिएको पौडेलको भनाइ छ । उनले भनिन्, ‘दार्मा गाउँपालिका पशुपालन र दुध उत्पादनमा आत्मनिर्भर पालिका समेत हो । यहाँबाट जिल्लाभर र जिल्लाबाहिर समेत दुध निर्यात हुन्छ। दूध उत्पादन बढाउन अनुदान कार्यक्रम ल्याएका हौँ।’
भँैसी ब्याएपछि सुत्केरी स्याहार र प्रोत्साहन लागि रकम पाउँदा खुसी लागेको दार्मा गाउँपालिका–४ का किसान पूर्ण विकले बताए। ‘भैँसी सुत्केरी प्रोत्साहन रकम पाउँदा भैँसीलाई दाना किन्न थोरै भए पनि सहज भएको छ । हामी जस्ता किसानको कर्मलाई पनि सरकारले सम्मान गर्नु राम्रो काम हो,’ उनले भने ।