नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार स्वार्थ समूहको भरिया भएर उभिँदा जनतामा निराशा र आक्रोशको आगो बढेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सो आगो लोकतन्त्रकै विरुद्धमा प्रयोग हुने खतरा बढेको बताए।
‘मैले यही रोस्टमबाट भनेको थिएँ– सरकार स्वार्थ समूहको भरिया भएर उभिँदा जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रूपमा बढेको छ। र, त्यो आगो लोकतन्त्रकैविरुद्ध प्रयोग हुने हो कि भन्ने गम्भीर प्रश्न अहिले हामी सबैका मनमा छ,’ उनले भने।
सरकारले नै बेथिति र विकृति बोकेको आरोप लगाउँदै प्रचण्डले भने, ‘व्यापारीहरूसँग बक्यौता उठाउन खोज्यो, जथाभावी लाइसेन्स बेच्न दिएन भनेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सरकारको कोपभाजनमा पर्नुभएको छ। प्रतिगमनकारीहरू नारायणहिटीको गेटैमा आइपुग्दा पनि सरकारको कार्यशैली यस्तो भएपछि लोकतन्त्र जोखिममा पर्दैन त ?’
राजावादीहरूले गरेको प्रदर्शनमा सत्तामा रहेका दलहरूसमेत भागीदार रहेको उनको भनाइ छ। प्रदर्शनमा विदेशी षड्यन्त्रसमेत हुन सक्ने भए पनि मुख्य कारक सरकराको कुशासन नै भएको बताए।
‘म पछिल्ला प्रदर्शनलाई केही पनि होइनन् भनेर उपेक्षा गर्दिनँ । सत्तामा रहेकाहरूलाई भन्न चाहन्छु, तपाईंहरू पनि यसको निम्ति भागीदार हुनुहुन्छ । विदेशी षड्यन्त्र होलान्, विगतमा पनि हामीले देख्ने गरेका हौँ, अस्तिको प्रदर्शनमा पनि हामीले देख्यँ कस–कसका फोटो टाँसिए, तर म त्यसलाई पहिलो ठान्दिनँ । फोटो जसजसको टाँसिए पनि त्यहाँ उत्रिएको त नेपाली जनता नै हो । यसलाई अव्यवस्था र कुशासनविरुद्ध जनताको आक्रोशको रूपमा बुझ्न ढिलो गरियो भने धेरै ढिलो हुन सक्छ,’ प्रचण्डले भने।