पोखरा महानगरले फेवाताल किनारमा कोटिहोम आयोजना गर्न नदिने

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

पोखरामा आयोजना हुने भनिएको कोटिहोमको विषयलाई लिएर दुई महिनादेखि जारी विवाद सोमबार सकिएको छ । पोखरा महानगरपालिकाको आह्वानमा सोमबार जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र कोटिहोम आयोजकसहित सरोकारवालाहरूको बैठकले कोटिहोम आयोजना गर्न दिने निर्णय गरेको हो । पोखराको प्रमुख पर्यटकीय स्थल फेवाताल किनारको बाराहीघाट र हल्लनचोकस्थित क्याम्पिङ चोकको जग्गामा कोटिहोम गर्न नदिने निर्णय भएको पोखराका मेयर धनराज आचार्यले बताए । कोटिहोमका लागि हाल आयोजकले गर्ने भनेको स्थानमा गर्न नदिने र यसका लागि अर्को स्थानमा उपयुक्त जग्गा खोजी गर्ने, जग्गा खोजीका लागि मंगलबार बस्ने महानगरपालिकाको ४३औँ कार्यपालिका बैठकले पाँच सदस्यीय समिति गठन गर्ने र सोही समितिले सम्भावित वैकल्पिक स्थानको विषयमा छलफल गरी निर्णय लिइने उनले बताए ।

कार्यपालिका बैठकले हाल देखिएको विवाद समाधानसँगै वैकल्पिक स्थानको खोजी गरी कोटिहोम गर्ने स्थानको टुंगो लगाउन जिल्ला प्रशासन कार्यालय कास्कीका एक, महानगरका दुई र आयोजक फाउन्डेसनका दुई गरी पाँच सदस्यीय समिति गठन गर्ने सहमति बैठकमा भएको छ ।विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारी संस्थापक एवं सञ्चालक रहेको मानव सेवा फाउन्डेसन नेपालले आगामी १७ वैशाखदेखि २६ जेठसम्म फेवाताल किनारमा रहेको नेपाल ट्रस्टमातहतको बाराहीघाट र हल्लनचोकस्थित क्याम्पिङ चोकको जग्गामा कोटिहोम आयोजना गर्न लागेको हो । 

कोटिहोमका लागि नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटको जग्गामा आगामी १७ चैतदेखि १७ वैशाखसम्म कोटिहोमको प्रचारात्मक कार्यक्रम गर्ने, १७ वैशाखदेखि २६ जेठसम्म कोटिहोम सञ्चालन गर्ने आयोजकको तयारी थियो । कोटिहोमका लागि आयोजकले जग्गा प्रयोगबापत नेपाल ट्रस्टलाई भाडाबापत ११ लाख ५९ हजार रुपैयाँसमेत बुझाइसकेको छ । तर, आयोजकले स्थानीय सरकारसँग भने हालसम्म अनुमति लिएको छैन । 

आयोजकले कोटिहोममा प्रयोग हुने समिदाका लागि भन्दै महानगर क्षेत्रमा रहेका ऐतिहासिक चौतारा र सडकछेउमा रहेका वर, पीपल, समीलगायतका रुखका हाँगा अनुमतिबेगर मुठारेपछि दुई महिनाअघिदेखि विवाद सुरु भएको थियो । सोही क्रममा आयोजकले २३ फागुनमा बाराहीघाटस्थित जग्गामा भूमिपूजन गर्न लाग्दा महानगरका प्रहरी र आयोजक पक्षबिच झडपसमेत भएको थियो । आयोजक कुनै पनि हालतमा कोटिहोम गर्ने र महानगर कुनै पनि हालतमा गर्न नदिने अडानमा रहँदा महानगरका ११ र आयोजक पक्षका सातजना घाइते भएका थिए । यसअघि कुनै पनि हालतमा कोटिहोम गर्न नदिने अडान लिएको महानगरले कोेटिहोमलाई अपनत्व लिने निर्णय बैठकमा भएको विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले बताए ।

सुझावित समाचार