ऊर्जामन्त्री खड्काले तीन महिनामै फेरे सिँचाइ विभागको महानिर्देशक

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण
ऊर्जामन्त्री खड्काले तीन महिनामै फेरे सिँचाइ विभागको महानिर्देशक

सञ्जीव बराल

ठुला लगानीका सिँचाइ आयोजनाको काम गरिरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तीन महिनामै बदलेका छन् । मन्त्री खड्काले देवराज निरौलालाई मन्त्रालय तानेर मन्त्रालयका सहसचिव सञ्जीव बराललाई काजमा महानिर्देशक बनाएर पठाएका छन् । 

३ वैशाख ०८१ मा विभागको महानिर्देशक भएका बराललाई मन्त्री खड्काले गत १८ मंसिरमा ऊर्जा मन्त्रालय तानेका थिए । त्यसपछि उनले विभागको महानिर्देशकको जिम्मेवारी निरौलालाई दिएका थिए । अहिले निरौलालाई मन्त्रालयमै तानेर बराललाई पुनः विभागको महानिर्देशक बनाइएको हो । बराल अहिले मन्त्रालयको विद्युत् विकास दशक आयोजना र जनताको जलविद्युत् कार्यक्रममा थिए । 

अहिले विभागअन्तर्गत अर्बाैँ लगानीका ६ वटा राष्ट्रिय गौरवका सिँचाइ आयोजनासहित केही आयोजना निर्माणाधीन छन् । निर्माणाधीन र अब निर्माण हुने सिँचाइ आयोजनाको ठेक्कामा हालिमुहाली गर्न मन्त्री खड्काले महानिर्देशक हेरफेर गरेको मन्त्रालयकै एक अधिकारीले बताए । खटिएकै निकायबाट तलबभत्ता भुक्तानी हुने गरी विभागको महानिर्देशक पदको जिम्मेवारीमा कामकाज गर्न खटाइएको छ ।

विभागले सिँचाइ आयोजना निर्माण तथा सञ्चालन गर्छ । अहिले सिक्टा, बबई, रानीजमरा कुलरिया, सुनकोशी मरिण डाइभर्सन, महाकाली र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना विभागअन्तर्गत निर्माण हुँदै छन् । यीबाहेक थुप्रै ठुला सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा छन् । 

विवादमा छ सिक्टा आयोजनाको दुई अर्बको ठेक्का 
मन्त्री खड्का आएपछि नै विभागले सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणका लागि आह्वान गरेको साढे दुई अर्बको दुई प्याकेजको ठेक्का विवादमा छ । त्यसमा प्रतिस्पर्धा साँघुरो र कमजोर बनाएर मिलेमतोमा निश्चित कम्पनीलाई ठेक्का दिन खोजिएको आरोप छ । ४३ किलोमिटर लामो डुडुवा शाखा नहरलाई दुई प्याकेजमा बनाउने गरी १ पुसदेखि २५ माघसम्म टेन्डर आह्वान गरिएको थियो । यी दुवै प्याकेजको लागत अनुमान १२५–१२५ करोड रुपैयाँ रहेको छ । त्यसमा ११–११ वटा आवेदन परेका छन् । अहिले यसमा प्रस्तावक कम्पनीहरूको प्रस्ताव मूल्यांकन गर्ने काम भइरहेको छ । 

विशेषगरी यसमा प्रतिस्पर्धालाई साँघुरो बनाइएको थियो । टेन्डर आह्वान गर्दा नै सीमित कम्पनीलाई फाइदा हुने गरी कडा मापदण्ड तोकिएको थियो । प्रतिस्पर्धा खुुला हुनुपर्ने ठाउँमा साँघुरो भएपछि केही निर्माण कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयमा गुनासो पनि गरेका थिए । त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि उक्त टेन्डर ऐनसम्मत नभएको भन्दै सिँचाइ विभागलाई पत्र काटेको थियो । त्यसपछि १५ माघमा योग्यता संशोधन पनि गरेको थियो । तर, टेन्डर खुला प्रतिस्पर्धा हुनेमा आशंका रहेको निर्माण व्यवसायीहरू बताउँछन् । 

सिक्टा सिँचाइ राष्ट्रिय गौरवको परियोजना हो । बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरेर यसबाट त्यस क्षेत्रको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइने लक्ष्य छ । त्यसमध्ये राप्ती–पश्चिम दायाँतर्फ ३३ हजार ७६६ र राप्ती–पूर्व बायाँतर्फ नौ हजार हेक्टरमा सिँचाइ पुग्नेछ । आव ०६१/६२ बाटै यस परियोजनाको निर्माण कार्य अघि बढेको छ । तर, २० वर्षको अवधिमा यसको भौतिक प्रगति ४१.५८ प्रतिशत छ । यसको लागत ५२ अर्ब ८९ करोड रहेको छ । 

सुझावित समाचार