राष्ट्रिय सभाबाट चार विधेयक प्रमाणित भएका छन्। राष्ट्रिय सभामा उत्पत्ति भएका चार विधेयक सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गरेका हुन्।
सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०, विद्युतीय व्यापार विधेयक २०८०, विधायनसम्बन्धी विधेयक २०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ प्रामाणित भएका हुन्।
यी विधेयकलाई प्रमाणीकरणका लागि भोलि मंगलबार राष्ट्रपतिकहाँ पठाइनेछ।
संविधानको धारा ११३ को उपधारा (१)बमोजिम राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसकेपछि ऐनका रूपमा लागू हुनेछ।