पोखरा महानगरपालिका– २८ स्थित आरूपाटा–अर्धनारेश्वरधाम पैदल मार्गको शनिबार उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका– २८ को ७ लाख रुपैयाँ र स्थानीय जनसहभागितामा २६३ मिटर लामो पैदलमार्ग हालै निर्माण सम्पन्न भएको हो ।
चुत्रकोटमा नेपालकै ठुलो अर्धनारेश्वर महादेवको मूर्ति स्थापना गरी धामको रूपमा विकास गर्ने गुरुयोजना बनेको र उक्त धामसम्म आवतजावतमा सहज होओस् भन्ने उद्देश्यले निर्माण गरिएको सिँढी र केही रेलिङसहितको पैदल मार्गको पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले उद्घाटन गरेका हुन् ।
पैदलमार्गको उद्घाटन गर्दै पोखरा महानगरपालिका– २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाभित्र नयाँ पर्यटकीय गन्तव्य निर्माण कार्यमा वडा लागिरहेको र अन्य छिमेकी वडाहरूसँग पनि समन्वय गरिरहेको बताउँदै आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरे । उनले पर्यटनका पूर्वाधार निर्माणले यस क्षेत्रकै आर्थिक समृद्धिमा टेवा पुग्नुका साथै धार्मिको पर्यटकीय क्षेत्रको रूपमा विकास हुने विश्वास व्यक्त गरे ।
यस्तै, वडासदस्य डाल्डादेवी भुजेलले ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्दै यो ठाउँ विगतदेखि नै पर्यटकीय क्षेत्रको रूपमा चिनिँदै आएको र उचित प्रचारप्रसार र योजनाको अभावमा पर्यटकीय गतिविधि हुन नसकेको बताउँदै यस क्षेत्रलाई धामको रूपमा विकास गर्न सकेदेखि पर्यटन विकासमा टेवा पुग्ने बताएकी थिइन् ।
समाजसेवी एवं व्यवसायी सुबोध त्रिपाठीले गुरुयोजनाअनुसारको निर्माणका लागि सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्ने बताउँदै यसको विकासका लागि पदमार्गको हिस्साको रूपमा समावेश गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै, लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले लेखनाथ क्षेत्रको विकासमा संघले विगतदेखि नै उल्लेखनीय योगदान गर्दै आएको बताउँदै आफ्ना योजनाहरूसहित संघलाई घचघच्याउन स्थानीयहरूलाई आग्रह गरेका थिए ।
उक्त अवसरमा पैदलमार्ग निर्माण समितिका अध्यक्ष शम्भुराम पाण्डेले प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको र विगतमा विदेशी पर्यटकहरूको प्रशस्त चहलपहल हुने ठाउँ अहिले शून्य भएको अवस्थामा यसलाई पुनः पर्यटकीय स्थानको रूपमा प्रचारप्रसार र विकास गराउन सबै लागिपर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका निवर्तमान उपाध्यक्ष रामप्रसाद तिम्सिना, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, अर्धनारेश्वरधाम तथा वन उपभोक्ता समितिका संस्थापक सचिव रामकृष्ण त्रिपाठी, इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख श्रवणकुमार विक, हाम्रो आरूपाटा टोल विकास संस्थाका अध्यक्ष वेदनाथ अधिकारलगायतले बोलेका थिए ।
नेचुरल नेपाल होम स्टेमा आयोजित कार्यक्रममा आरूपाटा समृद्धि अभियानका बुद्धिराम पाण्डेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन पैदलमार्ग निर्माण समितिका उपाध्यक्ष पुष्पराज त्रिपाठीले गरेका थिए ।
प्राचीन समयमा बाइसे चौबिसे राजाले शासन गरेको ऐतिहासिक महत्त्व बोकेको चुत्रकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर महादेवको मूर्ति स्थापना गर्न गुरुयोजना तयार भइसकेको छ । अर्धनारेश्वर महादेव धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिका संरक्षक दीपक तिमिल्सेनाले तयार पारिएको डिपिआर यसअघि नै वडा नम्बर २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेलाई हस्तान्तरण गरिसकेका छन् ।
सो क्षेत्रमा मूर्ति निर्माणसँगै आधुनिक सुविधासम्पन्न गुरुकुल, बाल उद्यान, आधुनिक पार्क, भ्यु पोइन्ट, दुरा जातिको संग्रहालय निर्माणका साथै सो क्षेत्रको सौन्दर्यकरण डिपिआरमा समावेश गरिएको छ । परियोजना निर्माणका लागि ७४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
परियोजना निर्माण भएर सञ्चालनमा आएमा समग्र वडा नम्बर २८ मा पर्यटक आगमनमा वृद्धि भई आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास स्थानीयले गरेका छन् । वन उपभोक्ता समितिले परियोजना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
वडाको धार्मिक तथा पर्यटन विकासका लागि तिलकशाली अधिकारीको संयोजकत्वमा अर्धनारेश्वर महादेव धार्मिक तथा पर्यटन क्षेत्र विकास समिति गठन गरिएको छ । उक्त स्थानबाट उत्तरतर्फ लहरै लागेका हिमशृंखला देख्न सकिन्छ भने दक्षिणतर्फ पोखरा लेखनाथ क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ भने कास्कीका सातवटै तालहरूसमेत एकै ठाउँबाट देख्न सकिन्छ ।
सामुदायिक वनभित्र निर्मित संरचना पनि समुदायकै सम्पत्ति हुने भएकाले यस्लाई स्थानीय सहभागितामा बनाउन लागिएको परियोजनाका परिकल्पनाकार दीपक तिमिल्सेनाले बताए । अर्धनारीश्वर महादेवको मन्दिरमा गएर विवाहित दम्पतीले दर्शन गरेमा उनीहरूको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।