थ्री स्टार क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै थ्री स्टार अन्तिम दुईमा पुगेको हो । थ्री स्टारले उपाधिका लागि नेपाल पुलिस र चर्च ब्वाइजबिचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
थ्री स्टारका प्रशान्त लिम्बू, दीपेश घले र नवीन लामाले समान एक गोल गरेका थिए । थ्री स्टारले खेलको पहिलो मिनेटमै १–० को अग्रता लिएको थियो । दीपेश घलेको क्रसमा प्रशान्तले अग्रता गोल गरेका हुन् । खेलको २८औँ मिनेटमा आशिष चापागाईंले दिएको पासमा दीपेशले थ्री स्टारलाई २–० को स्थितिमा राखे । खेलको ८१औँ मिनेटमा नवीन लामाले थ्री स्टारका लागि तेस्रो गोल गरेका थिए । आर्मीका कप्तान नवयुग श्रेष्ठ र नीरज चौधरीले एक–एक गोल फर्काए । नवयुगले खेलको ८३औँ मिनेटमा गोल गरे ।
नीरजले पेनाल्टीमा गोल गर्दै थ्री स्टारमाथि दबाब बनाउन कोसिस गरे । आर्मीका फत्तेमान घलेले २२औँ मिनेटमा प्रहार गरेको बल बारभन्दा माथि गएको थियो । खेलको २८औँ मिनेटमा आर्मीका कप्तान नवयुगको प्रहारलाई थ्री स्टारका गोलरक्षक विवेक मगरले छेकेका थिए । खेलको ५६औँ मिनेटमा आर्मीका नीरजको पासमा नवयुगले सहज गोल अवसर चुकाए । ०७४ मा थ्री स्टारले विराट गोल्डकपको फाइनलमा आर्मीलाई ३–० ले हराएको थियो ।