मेचीनगर गोल्डकप : झापालाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

सोमबार, २६ फागुन, २०८१
डिजिटल संस्करण

 ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड झापा एफसीलाई सेडन डेथमा ५–४ ले हराउँदै मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मेचीनगरस्थित काँकडभिट्टा खेलमैदानमा आइतबार निर्धारित समय र पेनाल्टीसमेत बराबरी हुँदा विजेता टोलीको छिनोफानो सडन डेथबाट भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भयो । दोस्रो हाफमा दुवै टोलीले १–१ को बराबरी खेले । त्यसपछि खेल सीधै पेनाल्टी सुटआउटमा गयो । 

पेनाल्टीमा चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापामगर नायक बने । प्लेयर अफ दी म्याच उनले झापाका धीरेन्द्र विष्टको प्रहार रोकेका थिए । नेपाल सुपर लिग (एनएसएल) टोली झापाका अभिषेकको प्रहार बाहिरिएको थियो । झापाका रोशन पहारी, प्रवित बस्नेत, बाफोर र गौरव धिमालले गोल गरेका थिए । चर्च ब्वाइजका लागि राजेश परियार, जया गुरुङ, कुमार गुरुङ, विदेशी खेलाडी अबयुमी फाकुन्ले र टिकेन्द्रले गोल गरेका थिए । सुरजजिउ ठकुरीको प्रहार भने झापाका गोलरक्षक कृशल मोक्तानले बचाएका थिए ।  अब चर्च ब्वाइजले फाइनल प्रवेशका लागि एपिएफ र मच्छिन्द्र फुटबल क्लबबिचको विजेतासँग २९ फागुनमा खेल्नेछ ।  सोमबार उज्वेकिस्तानको ब्ल्याक बुल्सले धरान एफसीको सामना गर्नेछ । यो खेलको विजेताले सेमिफाइनलमा आयोजक काँकडभिट्टासँग खेल्नेछ । 

 पहिलो हाफ बराबरी
मेचीनगर मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मध्यान्तरमा दुवै पक्ष थप आक्रामक भए ।  चर्च ब्वाइजले ६९औँ मिनेटमा १–० को अग्रता लियो । चर्च ब्वाइजलाई रिचार्ड विल्सनले अग्रता दिलाएका हुन् । झापाका रक्षक सर्ज डिकाले गरेको गल्तीको फाइदा उठाउँदै रिचार्डले गोल गरेका हुन् । त्यसअघि अबोयुमी फाकुन्लेले गरेको क्रस डिकाले क्लियर गर्न नसक्दा रिचार्डले बक्सभित्र बल नियन्त्रणमा राख्दै गोल गरेका थिए ।  खेल सकिन एक मिनेटअघि झापा एफसीले बराबरी गोल फर्कायो । झापाका श्याम मुर्मूले गोल गरेका हुन् ।  बक्सभित्र हुलमुलमा मुर्मूले गोल गरेका हुन् । यसअघि मुर्मू आर्यन राईको स्थानमा मैदान प्रवेश गरेका थिए ।

सुझावित समाचार