भ्रष्टाचारका तीन मुद्दामा विशेषबाट सफाइ

सोमबार, २६ फागुन, २०८१
डिजिटल संस्करण

विशेष अदालतले भ्रष्टाचारका तीन मुद्दामा एकैदिन सफाइ दिएको छ । आइतबार लगाउमा रहेका घुसका दुई मुद्दा र एउटा गैरकानुनी लाभको मुद्दामा सफाइ दिने फैसला भएको हो ।

विशेषका सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले गैरकानुनी लाभ लिएको मुद्दामा सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौजनामाथि ६ महिनाअघि मुद्दा चलाएकोमा सफाइ दिइएको हो । सप्तरीको तिरहुत गाउँपालिकाका उपाध्यक्ष एवं योजना अनुगमन समितिकी संयोजक तीर्थमाया खत्वे र सदस्यहरू दुर्गानन्द यादव र वीरेन्द्रकुमार यादवले सफाइ पाएका छन् । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक र सबइन्जिनियर जागेश्वर मण्डललाई पनि सफाइ दिइएको छ । साथै, उपभोक्ता समिति अध्यक्ष रवेन्द्रकुमार यादव, सचिव धीरेन्द्रकुमार यादव र कोषाध्यक्ष रेणुकुमारी यादवले पनि सफाइ पाएका छन् ।

आर्थिक वर्ष ०७४/७५ मा गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म सोलार बत्ती खरिद तथा जडान कार्यमा अनियमितता भएको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो । विशेष अदालतले लगाउमा रहेका घुसका दुई मुद्दामा सफाइको फैसला गरेको छ । नेपाल प्रहरी, साइबर ब्युरोमा कार्यरत प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले मुद्दा मिलाइदिने भनी ९९ हजार रुपैयाँ घुस मागेको घटनामा सफाइ दिइएको हो ।

सुझावित समाचार