नेपाली नागरिकताको निरन्तरताको लागि क्रियाशील अभियान नागरिकता खोइले यही मार्च दोस्रो साता टेक्ससको ड्यालसमा अन्तर्क्रिया गर्न लागेको छ।
गैरआवासीय नेपालीले पहिले पाइसकेको वंशजको नेपाली नागरिकता नै कायम हुनुपर्ने मागलाई जनस्तरसम्म लैजान अमेरिकाव्यापी कार्यक्रम गर्ने क्रममा टेक्ससको ड्यालस र ह्युस्टनमा अन्तर्क्रिया गर्न लागिएको अभियानका संयोजक बासुदेव घिमिरेले बताए।
गैरआवासीय नेपाली संघलगायत संस्थाहरूले नेपाली नागरिकताको निरन्तरताको लागि पैरवी गर्न नसकेको जनाउँदै अभियानले संसारभरि रहेका नेपालीलाई जोड्न अन्तर्क्रिया गर्न लागेको हो।
मार्च दोस्रो साता ड्यालसबाट सुरु हुने कार्यक्रम अमेरिकाका विभिन्न सहरमा हुनेछन्। अभियानले १५ मार्चमा ड्यालस, १६ मार्चमा ह्युस्टन र २२ मार्चमा लसएन्जलसमा अन्तर्क्रियाको तयारी गरेको छ। अन्य स्थानको कार्यक्रमको मिति भने केही समयपछि तोकिने जनाइएको छ।