बृहत् यौनिकता शिक्षालाई विस्तार गर्न माग

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

मानव यौन तथा यौनिकताको शारीरिक, भावनात्मक, सांस्कृतिक, सामाजिक र व्यावहारिक पक्षका लागि बृहत् यौनिकता शिक्षालाई थप विस्तार गर्न माग गरिएको छ । अछाम सदरमुकाम मंगलसेनमा आयोजित बृहत् यौनिकता शिक्षा कार्यक्रमको स्थानीयकरण कार्यशालामा सहभागी लक्षित वर्गले यस्तो माग गरेका हुन्।

उनीहरूले यौनिकताले मानिसको मूल्य तथा मान्यता, यौनसँग प्रत्यक्ष सम्बन्ध भएका बृहत् अर्थ, यसप्रतिको बुझाइ तथा प्रयोग र नियन्त्रण वा सीमालाई बुझाउने भन्दै जनप्रतिनिधिहरूलाई यसको विस्तारमा थप गम्भीर बन्न आग्रह गरे । अस्ट्रेलियन एड र युएनएफपिएको सहयोगमा सञ्चालनमा रहेका ११ वटा किशोरकिशोरीमैत्री सूचना केन्द्र र १३ वटा स्वास्थ्य संस्थाको प्रतिनिधित्व गर्दै कार्यशालामा सहभागी उनीहरूले वैज्ञानिक र अधिकारमा आधारित बृहत् यौनिकता शिक्षाको पहुँच, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारजस्ता मुद्दामा जनप्रतिनिधिहरूले चासो दिनुपर्ने बताए।

जिल्लाको साँफेबगरस्थित बृहत् यौनिकता शिक्षा प्राविधिक कार्य समूहका सदस्य हंश कुँवरले स्थानीय पाठ्क्रममै यो विषय समावेश गर्न पहल गरिनुपर्ने उल्लेख गरे । कमलबजारको चक्रेश्वरी माविको किशोरकिशोरी मैत्री सूचना कक्षाका संयोजक दिपक बटालाले बृहत् यौनिकता शिक्षाकै कारण यौन तथा प्रजनन बारे खुलेर बोल्ने बानीको विकास भएको बताए । गलत वा भ्रमपूर्ण सूचनाका कारण किशोरकिशोरीले जोखिमपूर्ण यौन व्यवहार अपनाउन सक्ने भय देखिएको भन्दै मंगलसेनस्थित शोडषा माविका छात्रा मनिषा बजगाईले उनीहरूका लागि पहुँच पुग्ने गरी सूचना र जानकारी दिने व्यवस्था मिलाउन माग गरिन् । उनीहरूका धारणा सुनेपछि जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कँुवरले बृहत् यौनिकता शिक्षाअन्तर्गत शिक्षकलाई तालिम र विद्यार्थीलाई यसबारे आधुनिक विज्ञानसम्मत जानकारीको सुनिश्चिता हुनुपर्ने बताए । बृहत् यौनिकता शिक्षालाई हरेक युवाको पहुँचमा पुर्याउनसमेत सम्बद्ध पक्षसँग आग्रह गरे ।

मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले किशोरकिशोरी तथा युवामैत्री सेवा तथा वातावरणबारे समेत बृहत् छलफल र विचार-विमर्श गर्न आफूहरू तयार रहेको बताए। त्यसका लागि योजना निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ। 

प्रजनन हकको मौलिक अधिकारमा बल पुग्ने गरी बृहत् यौनिकता शिक्षालाई अनिवार्य विषय बनाएर यसको थप विस्तार गर्न आवश्यक रहेको भन्दै जिल्ला समन्वय अधिकारी मेघराज शंकरले आगामी दिनमा यसबारे थप परामर्श गरिने बताए। 

नेपाल परिवार नियोजन संघको आयोजनामा भएको कार्यशालामा संघका चेतराज फुलारा, युएनएफपिएका भरत गोतामे र शंकर रावलले सहजीकरण गरेका थिए। जसमा सन् २०१८ देखि २०२४ सम्म गरिएका कामको समीक्षा गरिएको थियो। जहाँ ‘सेफ गर्ल्स’ परियोजनाबारे समेत जानकारी गराइएको थियो । समीक्षामा शिक्षा समन्वय इकाइका प्रमुख अम्बादत्त जोसीसहित मंगलसेन, कमलबजार र साँफेबगर नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य तथा शिक्षा शाखाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो।
 

सुझावित समाचार