सूर्यदर्शन सहकारी ठगी प्रकरण : दोस्रो तारिख बुझ्न कास्की अदालतमा हाजिर भए रवि

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने दोस्रो तारिख बुझ्न आइतबार जिल्ला अदालत कास्कीमा हाजिर भएका छन् ।

लामछिानेलाई अदालतले तेस्रो तारिक १९ वैशाख ०८२ का लागि दिएको स्रेस्तेदार राजन खनालले जानकारी दिए। आज साधारण तारिख मात्र रहेको उनले जानकारी दिए। 

सहकारी ठगीको आरोपमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट २ कात्तिकमा पक्राउ परेका लामिछाने २५ पुसमा ६५ लाख धरौटी बुझाएर धरौटी तारिखमा छुटेका थिए। त्यसपछि २५ माघमा पहिलो तारिखका लागि अदालतमा हाजिर भएका लामिछानेले दोस्रो तारिख २५ फागुनका लागि बुझेसँगै आइतबार हाजिर भएका हुन्। 

तारिख बुझ्ना उनी श्रीमती निकिता पौडेलसहित काठमाडौंबाट आएका हुन्। कास्की अदालतमा हाजिर भएका लामिछाने आइतबारै पोखराबाट रुपन्देही गएको पार्टीका सार्वजनिक मामिला विभागका केन्द्रीय सदस्य उत्तम पौडेलले जानकारी दिए। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको तारिक भोलि सोमबार रहेकालेले त्यता गएको पौडेलले जानकारी दिए।
साधारण तारेख माग गर्दै लामिछाने उच्चमा 
लामिछानेले साधारण तारिखको माग गर्दै उच्च अदालत पोखरामा १४ माघमा निवेदन दिएका थिए। लामिछानेको निवेदनपछि १५ माघमा उच्चले कास्की जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो । 

लामिछानेले साधारण तारेखको माग गर्दै उच्चमा निवेदन दर्ता गर्नुअघि जिल्ला अदालतले दिएको आदेश बदर गरी सातजना प्रतिवादीलाई थुनामा पठाउन माग गदै सरकारी वकिल कार्यालयले ७ माघमा उच्चमा निवेदन दर्ता गरेको थियो । वकिल कार्यालयको निवेदन दर्तापछि ८ माघमा अदालतले ठगी प्रकरणमा जोडिएका सातजनालाई धरौटी तारिखमा छाड्न गरेको आदेशको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो । 

२५ पुसमा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलाशले ठगी प्रकरणका जोडिएका लामिछानेसँग ६५ लाख, गोरखा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक एवं शेयरधनी पूर्वडिआईजी छविलाल जोशीलाई ८८ लाख, जिबी राईको साझदोर एंव सहयोगी लीला पछाईलाई ३७ लाख, नेचर हब्र्स इन्टरनेसनल प्रालिका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाललाई १५ लाख, सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङलाई पाँच लाख, सहकारीकी कोषाध्यक्ष आरति गुरुङलाई पाँच लाख र सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङलाई एक लाख धरौटी माग गर्दै धरौटी तारेखमा छाड्न आदेश गरेको थियो । अदालतको आदेशसँगै उनीहरू सातैजना धरौटी बुझाएर तारिखमा छुटेका थिए । 

सातजनामध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण, पछाईलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र बैंक ऐन ०५८ को अभियोग लगाइएको छ भने अन्य तीनजनालाई सहकारीको रकम ठगीको अभियोग लगाइएको छ। 

यसअघि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ४४ जनाविरुद्ध ७ पुसमा कास्की अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्र दर्ता भएका ४४ जनामध्ये प्रहरी हिरासतमा रहेका उनीहरू सातजनालाई अदालतमा बयानसँगै थुनछेक बहशपछि धरौटी तारेखमा छाड्न आदेश भएको थियो। 
 

सुझावित समाचार