काठमाडौंमा स्कुटर चोरी गर्ने दुईजना पक्राउ

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौंको छुट्टाछुट्टै स्थानबाट दुईवटा स्कुटर चोरीमा संलग्न दुईजनालाई काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घर भई हाल काठमाडौंको मनमैजु बस्ने २० वर्षीय सनिस श्रेष्ठ र  रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका– १३ घर भई हाल काठमाडौंको मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगर पक्राउ परेका हुन्। 

वास्तविक नम्बर बा.८७प १६४४  रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका– १० घलेपुलमा चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उक्त स्कुटर सामाखुसी बस्ने महेशचन्द्र खनालले तारकेश्वर नगरपालिका– ९ बाट हराएको भनी निवेदन दिएका थिए । उक्त स्कुटर सुशान्त बुढा मगरले दिएको भनी खुल्न आएकाले खोजतलास गर्दै जाँदा काठमाडौंको मनमैजुबाट सुशान्तलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनुसन्धानकै क्रममा अर्को स्कुटर पनि लुकाइराखेको भन्ने खुल्न आएकाले खोजतलास गर्दा तार्केश्वर नगरपालिका– १० घलेपुलमै नम्बर प्लेट नै नभएको र पार्किङ गरी राखेको अवस्थामा स्कुटर फेला परेको ट्राफिक प्रहरीले जनाएको छ।  वास्तविक नम्बर बा.९२प ९३९५ भएको स्कुटर टोखा नगरपालिका– ११ बाट हराएको भनी रामेछापका रिकी थापामगरले निवेदन दिएकी थिइन्। 

नियन्त्रणमा आएका दुवैजनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

चोरीबाट जोगिन आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले आग्रह गरेका छ।  
 

सुझावित समाचार