निर्यातमा एकतिहाइ हिस्सा प्रशोधित खानेतेलको

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

विदेशबाट कच्चा पदार्थ ल्याई प्रशोधन गरेर भारत निर्यात हुने भटमास र सूर्यमुखी तेलको निर्यात ह्वात्तै बढ्यो 

नेपालको कुल निर्यातमा प्रशोधित खानेतेलको हिस्सा झन्डै एकतिहाइ पुगेको छ । चालू आर्थिक वर्षको सात महिनामा भएको कुल नेपालले एक खर्ब २७ अर्ब २० करोडको वस्तु निकासी गरेको छ । जसमा प्रशोधित खानेतेल भटमास, पाम र सूर्यमुखीको हिस्सा ३१.७४ प्रतिशत रहेको छ । 

चालू आर्थिक वर्षको सात महिनामा नेपालबाट ४० अर्ब ३७ करोडबराबरको प्रशोधित तेल निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । विभिन्न देशबाट कच्चा पदार्थ ल्याई प्रशोधन गरेर भारत निर्यात हुने प्रमुख निर्यातजन्य वस्तुका रूपमा भटमास, पाम र सूर्यमुखी तेल देखिएका हुन् । यसअघि पनि नेपालको कुल निर्यातमा प्रशोधित खानेतेलको हिस्सा आधाभन्दा बढी पुगिसकेको छ ।

यस अवधिमा ३२ अर्ब ४१ करोड ६१ लाखबराबरको भटमासको तेल, ६ अर्ब ५७ करोड ६७ लाखबराबरको सूर्यमुखी तेल र एक अर्ब ३८ करोड २८ लाखबराबरको पाम तेल निर्यात भएको हो । यसबिचमा भटमासको तेल र सूर्यमुखी तेलको निर्यात ह्वात्तै बढेको देखिन्छ । केन्द्रका अनुसार भटमासको तेलको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा पाँच हजार आठ सय ८६ प्रतिशत र सूर्यमुखी तेलको निर्यात चार हजार तीन सय २२ प्रतिशतले बढेको हो ।

नेपालको कुल निर्यातमा २५.४८ प्रतिशतको हिस्सा ओगट्दै भटमासको तेल प्रमुख निर्यातजन्य वस्तु बनेको छ । त्यस्तै, ५.१७ प्रतिशत हिस्सा ओगट्दै सूर्यमुखी तेल प्रमुख निर्यातजन्य वस्तुको सूचीको पाँच नम्बरमा परेको छ । प्रशोधित खाद्य तेलकै कारण भारततर्फको निकासी उच्चदरमा बढेको छ । नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात ६६.९० प्रतिशतले वृद्धि भई ९८ अर्ब एक करोड पुगेको छ । 

सुझावित समाचार