क्यानले पुरुषतर्फ १२ तथा महिलामा नौ अन्तर्राष्ट्रिय प्रतियोगितासहित ५५ कार्यक्रम पार्योे तयार
नेपाल क्रिकेट संघ (क्यान) ले वर्ष भरी खेलाडीलाई व्यस्त बनाउन वार्षिक क्यालेन्डर तयार पारेको छ । क्यानले सन् २०२५ मा पुरुषतर्फ १२ तथा महिलातर्फ ९ अन्तर्राष्ट्रिय क्रिकेट खेल पक्का गरेको छ । सिनियर पुरुष र महिलासँगै उमेर समूहका यू–१९ र यू–१६ को वार्षिक क्यालेन्डर क्यानले शनिबार सार्वजनिक गरेको हो । वर्षभरि क्यानले समग्रमा ५५ वटा विभिन्न कार्यक्रममा खेलाडीलाई व्यस्त बनाउनेछ ।
आइसिसी टी–२० विश्वकप छनोट र आइसिसी पुरुष विश्वकप लिग २ नै मुख्य प्रतियोगिताका रूपमा रहेका छन् । क्यानले स्कुल र महानगरपालिका कपलाई नयाँ प्रतियोगिताका रूपमा राखेको छ । यसैगरी, नेपाल प्रिमियर लिग (एनपिएल)को ‘मिनी अक्सन’समेत समावेश छ । सिनियर पुरुष टोलीले अप्रिलमा आयोजक हङकङ, कतार र नामिबियासँग खेल्नेछ । मेमा विश्वकप लिग २ को तयारीका लागि बेलायतको भ्रमण गर्नेछ । जुनमा आइसिसी विश्वकप लिग २ मा आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग नेपालले खेल्ने तालिका छ । विश्वकप लिग २ पछि नेपालले स्कटल्याण्डविरुद्ध नेपाल टी–२० सिरिज खेल्नेछ ।
नेपाली पुरुष टोली टी–२० विश्वकप छनोटको तयारी गर्न श्रीलंकामा जानेछ । भारतका विभिन्न स्थानमा पकेट क्याम्प गर्ने क्यानको योजना रहेको सचिव पारस खड्काले बताए । भारत भ्रमणपछि विश्वकप छनोटका लागि नेपालले अस्ट्रेलियाको भ्रमण गर्नेछ । त्यसपछि टी–२० तयारीका लागि टेस्टको स्थायी सदस्यसँग युएईमा सिरिज खेल्नेछ । अक्टोबरमा ओमानमा विश्वकप छनोट खेल्ने, यूएईमा विश्वकप लिग २, हङकङमा हङकङ सुपर सिक्सेस र ओमानसँग दुई खेलको एकदिवसीय सिरिज खेल्ने तालिका छ ।
महिलालाई पनि प्राथमिकता
यसपटक क्यानले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दा महिला सिनियर टोलीलाई पनि प्राथमिकतामा राखेको छ । महिलातर्फ घरेलु भूमिमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग प्रतिस्पर्धा भइसकेको छ । दुई साताको क्लोजक्याम्पछि महिला टोली अहिले युगान्डामा शनिबारदेखि सुरु भएको चार देशीय सिरिजमा सहभागी भइरहेको छ । युगान्डा भ्रमणपछि महिला खेलाडीले भुटानसँग त्रिवि मैदानमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि थाइल्यान्डमा महिला टी–२० विश्वकप छनोट खेल्दा थाइल्यान्डमै महिला इमर्जिङ टिम्स एसिया कप खेल्ने तालिका छ । नेपालमै मलेसिया र युएई बोलाएर टी–२० सिरिज हुनेछ ।
घरेलु प्रतियोगिता
क्यानले घरेलु क्रिकेटमा गतिविधि हुने गरी तालिका तयार पारेको छ । गत जनवरीमा जय ट्रफी र फेब्रुअरीमा पिएम कप जिल्ला छनोट प्रतियोगिता क्यालेन्डरमा समावेश छ । आइतबारदेखि पिएम कप राष्ट्रिय क्रिकेट सुरु हुँदै छ । यसपटक लुम्बिनी प्रदेशका तीन मैदानमा पिएम कप आयोजना हुँदै छन् ।
अप्रिलमा नेसनल टी–२० च्याम्पियनसिप हुनेछ । टी–२० का विभिन्न प्रतियोगिताले खेलाडी तयार गर्न मद्दत मिल्ने क्यानका सचिव खड्काले बताए । मे र जुन महिनामा नेपाल ‘ए’को टोलीले पनि शृंखला खेल्नेछ । सेप्टेम्बरमा भारत वा बंगलादेश गएर शृंखला खेल्ने सम्भावना छ । नोभेम्बरमा दोस्रो नेपाल प्रिमियर लिग हुने तय छ । अगस्टमा मिनी अक्सन हुनेछ । डिसेम्बरमा हुने महानगरपालिका कपमा ६ वटै महानगरको टोली बनाएर राष्ट्रिय खेलाडी नै समावेश हुने गरी प्रतियोगिता खाका बनाइएको छ । महिलातर्फ पिएम कप भइसकेको छ । यसैगरी, पुरुष र महिलातर्फ उमेर समूहका विभिन्न प्रतियोगिता क्यानले वार्षिक क्यालेन्डरमा समावेश गरेको छ ।
मुख्य प्रशिक्षकमा ७० जनाको आवेदन
पुरुष टोलीको रिक्त मुख्य प्रशिक्षक बन्नका लागि ७० जनाले आवेदन दिएको क्यानका सचिव खड्काले बताएका छन् । उनका अनुसार पुरूष पिएम कपअघि नै सर्टलिस्ट नाम सार्वजनिक हुनेछ । दुईजना पूर्वप्रशिक्षकहरूको पनि आवेदन परेको उनले बताए । मोन्टी देसाईसँगको सम्झौता नवीकरण नभएपछि पुरुष टोली एक महिनादेखि प्रशिक्षकविहीन छ ।