११५औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महोत्तरीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जिल्लास्थित महिला तथा मानव अधिकार क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले शनिबार संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरेका हुन् ।
यही क्रममा महोत्तरीमा महिला श्रमिकहरूको अवस्था र चुनौती विषयक अन्तरक्रियाका सहभागीहरूले श्रमिक महिलाहरूको अवस्था र अवस्थाबाट उकास्न सरोकारवाला निकायको भूमिका बारे चर्चा गरिएको थियो । उक्त अन्तरक्रियामा ‘महिला र बालबालिकाको लागि अधिकार, समानता र शसक्तिकरण’ तथा ‘संरचनात्मक विभेदविरूद्ध प्रतिकार ः श्रमिक महिलाहरूको पहिचान, मान्यता र सुरक्षा सुनिश्चितताको अधिकार’ मा जोड दिइएको थियो ।
कार्यक्रममा महोत्तरीमा महिला मानव अधिकारको अवस्था बारे तथ्यांक समेत प्रस्तुत गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले महिलाको अवस्थामा क्रमशः सुधार ल्याउँदै समान हक र अधिकार सुनिश्चित गर्न सबैको हातेमालो आवश्यक रहेको बताए ।
कार्यक्रम जलेश्वर नगरपालिकासँगै महिला सचेतना केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल, एनओडब्लु, महिला सचेतना समूह, इन्सेक, ओरेक, नेपाल अपांग संघ महोत्तरी, लोक कल्याण परियोजना, चौतारी नेपाल, आफन्त नेपाल, जिल्ला प्रहरी कार्यालय र जिल्ला महिला सञ्जालको संयुक्त आयोजना रहेको थियो ।
मटिहानीमा र्याली आयोजना
दिवसका अवसरमा मटिहानी नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ‘सबै महिला तथा बालबालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ मटिहानी बस स्टेण्डबाट सुरु भएको र्यालीले विभिन्न भागको परिक्रमा गरेको थियो । र्यालीमा मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधिहरूलगायत महिलाहरू सहभागी थिए ।
यसै गरी शाखाले आजै राम मावि मटिहानीमा आयोजित कार्यक्रममा १० जना साहसी महिलालाई कदर–पत्र प्रदान गरी सम्मान समेत गरियो । कार्यक्रममा नगर प्रमुख मण्डलले देश विकासमा महिलाहरूको ठूलो भूमिका रहेकोले तीनै तहका सरकारले महिलाहरूलाई अगाडि बढाउनमा नीतिगत किसिमले काम गर्नु पर्नेमा जोड दिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वड़ा अध्यक्षहरू कलीम अन्सारी, मदन चौधरी, महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास, हिना खातूनले महिलाहरूको क्षमता र सामाजिक विकासमा सहभागी गराउन जोड दिएका थिए ।