नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनसंख्याका आधारमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले आर्थिक समानता र जनंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने बताएका हुन्।
‘साँचो अर्थमा महिलाहरुको मुक्ति र समानताका लागि राज्यसत्ताका हरेक तहमा जनसंख्याका आधारमा प्रतिनिधित्व तथा श्रोत र साधनमा समेत उनीहरुको स्वामित्व सुनिश्चित भएमा मात्रै सम्भव छ,’ उनले भने, ‘राजनीतिक अधिकार प्राप्त भए पनि आर्थिक रुपमा समानता कायम नभएसम्म र उत्पादनका सबै खाले साधनमाथि महिलाहरुको स्वामित्व सुनिश्चित नहुँदासम्म वास्तविक अर्थमा महिला मुक्ति सम्भव छैन।’
आठ मार्च समानताको अधिकारका लागि संघर्षको मोर्चामा होमिएका विश्वभरिका महिलाका लागि गौरव र प्रेरणाको दिन भएको र यो दिनले आधा आकाश ओगटेका महिलालाई पुरुषसरह हरेक तहमा समान सहभागिता, स्वामित्व र सम्मानका लागि प्रेरित गर्दै आएको प्रचण्डको भनाइ छ।
‘यही मान्यताका आधारमा नेपालमा समेत महिलाले आन्दोलन गर्दै आएको र ऐतिहासिक संघर्षको जगमा निर्मित संविधानले महिला अधिकारलाई सुनिश्चित गर्दै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ,’ उनले भने, ‘यद्यपि व्यवहारतः महिलामाथिको हिंसा, विभेद, दमन अझै अन्त्य हुन सकेको छैन। त्यसैले महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन र जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व कायम गर्दै आर्थिकरुपमा समेत अधिकार प्राप्तिका लागि अघि बढ्न म सबैमा आह्वान गर्दछु।’