तल्लो तहका कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजना मात्र संघले कार्यान्वयन गर्ने भएकाले नयाँ बजेटका लागि आयोजना प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

आर्थिक वर्ष ०८२/८३ को बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारीअनुसार प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र भूमिकालाई दृष्टिगत गर्दै ठुला आयोजनामा केन्द्रित हुन आग्रह गरेका हुन् । उनले संघीयतामा प्रदेश र स्थानीय तहले गर्ने काम संघले गर्न जरुरी नरहेको बताए । 

अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ्दा मात्र संघीयताको अभ्यास बलियो हुने बताए । उनले तयारीमा रहेका आयोजनाको कार्यान्वयन र आगामी दिनमा आवश्यक पर्ने महत्वपूर्ण आयोजनाको तयारीमा ध्यान पुर्याउन पनि अनुरोध गरे । 

अर्थमन्त्री पौडेलले विकासलाई नीतिमार्फत पनि सम्बोधन गर्न जरुरी रहेकोमा जोड दिँदै नीतिले थप क्षेत्र खुला गर्ने धारणा व्यक्त गरे । अहिलेको संसद्बाट योभन्दा बलियो सरकार बन्ने सम्भावना नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैभन्दा बलियो सरकार भएका सबै पक्षसँग परामर्श गरी देशको आवश्यकता र जनताको चाहनाअनुसार नयाँ बजेट बनाउने बताए । 

सहरी विकास मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, सचिव र विभागीय प्रमुखहरू थिए । ऊर्जा मन्त्रालयसँगको छलफलमा ऊर्जामन्त्री दीपक खड्का, सचिव, विभागीय प्रमुखलगायत सहभागी थिए । 
 

सुझावित समाचार