दोस्रो वीरगन्ज गोल्डकप : उपाधिमाथि पुलिस र मच्छिन्द्रको दाबी

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण
दोस्रो वीरगन्ज गोल्डकप : उपाधिमाथि पुलिस र मच्छिन्द्रको दाबी

ट्रफीका साथ पुलिस र मच्छिन्द्रका कप्तानहरू

दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार हुँदै छ । उपाधि भिडन्तमा पुगेका नेपाल पुलिस र मच्छिन्द्र फुटबल क्लबले उपाधि जित्ने दाबी गरेका छन । उत्कृष्ट फर्ममा रहेको मच्छिन्द्रले साबिक विजेता पुलिसलाई रोक्दै ट्रफी उचाल्ने शुक्रबार आयोजित प्रिपोस्ट म्याचमा जनाएको छ ।

पुलिस पनि मच्छिन्द्रलाई हराएर उपाधि रक्षा गर्ने दाउमा छ । पुलिसका प्रशिक्षक चेतन घिमिरेले खेलाडीले रणनीतिक खेल खेल्दै विपक्षीमाथि दबाब राख्ने बताए । नियमित रूपमा खेलाडी प्रशिक्षणमा रहँदा पुलिस नै बलियो टोली भएको घिमिरेको भनाइ छ । 

पुलिसका कप्तान रामचन्द्र वाजीले प्रशिक्षकको रणनीतिअनुसार खेल खेल्ने बताए । ‘हामी प्रशिक्षणले सिकेको र प्रशिक्षकको निर्देशनअनुसार खेल्छौँ,’ वाजीले भने । मच्छिन्द्र म्यानेजर शिरीष श्रेष्ठले पहिलोपटक वीरगन्ज गोल्डकपलाई ऐतिहासिक बनाउने बताए । 

यस सिजनमा राम्रो तयारी गरेको श्रेष्ठले बताए । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले आफूहरू इतिहास रच्न तयार भएको जनाए । पुलिसले आयोजक वीरगन्ज युनाइटेड क्लबलाई सडेन डेथमा ७–६ ले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । मच्छिन्द्रले सहलेस फुटबल क्लब सिराहालाई निराश पार्दै अन्तिम दुई स्थान पक्का गरेको हो । विजेताले ११ लाख ११ हजार र उपविजेताले पाँच लाख ५५ हजार रुपैयाँ पाउनेछन् । 

सुझावित समाचार