पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका– ३ सेखुवानामा विद्युत् सर्ट भई आगलागी हुँदा तीनजना घाइते भएका छन् भने पाँच घर जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नारायण थापाका अनुसार आगलागीमा परी सेखुवानानिवासी ४० वर्षीया सतारुल नेसा, ३५ वर्षीया निजामोदिन मियाँ र २३ वर्षीया तैमुरदिन मियाँ घाइते भएका छन्।
उनीहरूको टाउको हात र अनुहार जलेको प्रहरीले जनाएको छ। घाइतेहरूको सहिद स्मृति अस्पताल बर्दघाट चौपत्तामा उपचार भइरहेको छ।
आगलागीबाट एकै परिवारका पाँच दाजुभाइको घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार इद्रिस अली, कसिम अली, नूरमहमत अली, शेख आलम मिला र अफताब अलीको घर जलेर नष्ट भएको हो। सबै घर ४० मिटर लम्बाइको एउटै टहरामा बनाइएका थिए।
आगो बर्दघाट र रामम्राम नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा करिब सवा १ घण्टापछि नियन्त्रणमा लिइएको थियो। आगलागीबाट लत्ताकपडा, अन्नपात, घरभित्र रहेका विभिन्न सामग्रीहरू गरी २७ लाख २९ हजार पाँच सय रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ।