चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङकङ फाउन्डेसन’ मार्फत करिब दुई करोड रुपैयाँ मूल्यबराबरको आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । मीनभवनस्थित अस्पतालपरिसरमा आज आयोजित कार्यक्रममा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका पूर्वउपमन्त्री चुई लीको नेतृत्वमा रहेको टोलीले ती उपकरण हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका उपकरणमा आँखा परीक्षण गर्ने माइक्रोस्कोप, कम्प्युटर, स्क्यान मेसिन, क्यामेरालगायत छन् ।
त्यस अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीनबिच प्राचीनकालदेखि नै बहुआयामिक, मैत्रीपूर्ण र घनिष्ट सम्बन्ध रहेको बताइन् । चीनसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिएको बताउँदै उनले चीनले नेपालमा लगानी प्रवर्द्धनका साथै सडक पूर्वाधार, विद्युत् विकासलगायतका क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्दैआएकोमा धन्यावाद ज्ञापन गरिन् ।
सांघाई सहयोग संघसँग सम्बन्धित छिमेक सहयोग नियोगनका उपाध्यक्ष एवं चीनका पूर्वउपमन्त्री चुई लीले नदी र पहाडले जोडिएको नेपाल–चीनबिचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा समेत न्यानो, मितवत् र बहुआयामिक रहेको बताए । उनले चीन सरकारले लिएको नीति तथा कार्यक्रमलाई सघाउने उद्देश्यसहित छिमेकी देशहरूको सम्बन्धलाई अझ सुदृढ र घनिष्ट बनाउन बनाउन सांघाई सहयोग संघ क्रियाशील रहेको स्पष्ट गरे । फाउन्डेसनका अध्यक्ष तामु यु चुङले चिनियाँ सरकारको सहयोगमा नेपालमा सञ्चालित निजामती अस्पतालको क्षमता विस्तार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्राडा विधाननिधि पौडेलले चीन सरकारको लाइफ लाइन एक्सप्रेस संस्थामार्फत अस्पतालका आँखा विभागका लागि रु. दुई करोड मूल्यबराबरको आँखा उपचारसँग सम्बन्धित उपकरण प्राप्त भएको जानकारी दिँदै आँखाका उपचारलाई प्राथमिकता दिई विशिष्टीकृत सेवा प्रदान गर्ने पक्षमा अस्पताल रहेको बताए ।
आँखा रोगसम्बन्धी रोगको उपचारका लागि पहिलो चरणमा उपकरण उपलब्ध हुनेछ भने त्यसपछि चिकित्सकलाई तालिम र प्रशिक्षणको व्यवस्था चीनले गर्ने भएको छ । तालिमपश्चात् दुवै देशका चिकित्सकले शल्यक्रियासहितका उपचार सेवा प्रदान गरी बिरामीलाई सहयोग पुर्याउने सन्दर्भमा सम्झौता भएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । सो सम्झौतापत्रमा कार्यकारी निर्देशक पौडेल र लाइफलाइन एक्सप्रेस हङकङ फाउन्डेसनका अध्यक्ष ताम यु चुङले हस्ताक्षर गरेका छन् ।
उक्त अस्पताल चीनको सहयोगमा १६ वर्षअघि निर्माण भई सञ्चालन छ । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई एसियाकै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट केन्द्रका रूपमा विकास गर्दै लैजाने योजना बनाएको छ । करिब तीन सय शय्याको निजामती अस्पतालमा दैनिक सरदर एक हजारको संख्यामा बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।
गुणस्तरीय स्वास्थ्य सेवाका कारण अस्पतालमा अहिले बिरामीको ठुलो चाप देखिन्छ । निजी क्षेत्रका अन्य अस्पतालका तुलनामा निजामती अस्पतालले कम शुल्कसहित गुणस्तरीय सेवा उपलब्ध गराइरहेको अस्पतालको दाबी छ ।अस्पतालमा पुग्ने जोकोही बिरामीले सजिलै विशेषज्ञ चिकित्सकसँग परामर्श र परीक्षण गर्न पाउने भएकाले पनि अस्पतालमा बिरामीको चाप बढेको कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।
वरिष्ठ नेत्र विशेषज्ञ डा. प्रज्ञा बस्नेतले अस्पतालको आँखा विभागका लागि अतिआवश्यक मानिएका आँखा परीक्षणसम्बन्धी अत्याधुनिक उपकरणहरू चीन सरकारबाट सहयोगस्वरूप प्राप्त भएपछि बिरामीले गुणस्तरीय उपचार सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । अस्पतालका नेत्ररोग विशेषज्ञ डा. राजेश भुर्तेलले आँखाको माइक्रोस्कोप, आँखाको पर्दा, मधुमेह र प्रेसरको परीक्षण तथा राख्नुपर्ने लेन्स अनुमान गर्ने उपकरण प्राप्त भएको जानकारी दिए ।