चारदेशीय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

युगान्डामा सञ्चालन हुने चारदेशीय महिला टी–२० शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बजे हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलोपटक खेल्न लागेको हो । उक्त शृंखलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ ।

सिरिजमा सबै टोलीले एक–अर्कासँग समान दुई–दुई खेल खेल्नेछन् । त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्नेछ । त्यसैगरी, फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ । लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छ्न् । नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्ना टोलीको कमजोरी सुधार गरी सिरिज जितेर फर्कने युगान्डा जानुअघि बताएका थिए ।

सुझावित समाचार