धरानस्थित बराह बचत तथा ऋण सहकारीको १० अर्ब ७३ करोड ४३ लाख ठगीका मुख्य अभियुक्त शिवकुमार लामिछाने (विश्वकर्मा)ले काठमाडौंमा पनि अर्को सहकारी चलाएर दुई अर्बभन्दा बढी ठगेको भेटिएको छ । उनले न्युरोडमा अभिमत बचत तथा ऋण सरकारी संस्था खेलेर बचतकर्ताको दुई अर्ब चार करोड ५१ लाख ठगी गरेको काठमाडौं महानगरपालिकाको अनुसन्धानमा खुलेको हो । शिवकुमारले ०७४ मा उक्त सहकारी खोलेका थिए । सहकारीको अध्यक्ष उनी आफैँ थिए । सहकारीको हरहिसाब हेर्दा कैफियत देखिएपछि थप अनुसन्धान गर्न महानगरले गत १६ साउनमा सिआइबीलाई सिफारिस गरेको थियो ।
‘अभिमत सहकारीले बचतकर्ताको रकम ठगी गरेको उजुरी हामीकहाँ आयो । महानगरबाट घटनाको छानबिन भयो । सहकारीले दुई अर्बभन्दा धेरै रकम अपचलन गरेको देखियो,’ काठमाडौं महानगरपालिकाका निर्देशक नमराज ढकालले भने, ‘घटनाको अनुसन्धान गर्न महानगरपालिकाले सिआइबीलाई सिफारिस गरेको छ । अनुसन्धान हुँदै होला ।’
बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) । उनले काठमाडौंको न्युरोडमा ०७४ मा खोलेको अभिमत सरकारीले बचतकर्ताको दुई अर्ब चार करोड ५१ लाख ठगी गरेको काठमाडौं महानगरपालिकाको अनुसन्धानमा खुलेको हो । प्रहरीले अनुसन्धान थालेपछि ठगीमा संलग्न सहकारीका अध्यक्ष शिवकुमार भएभरको सम्पत्तिसमेत बिक्री गरेर फरार भएका छन् । उनी विदेश फरार भएको अनुमान गरिएको छ । उनी मात्रै होइन, सहकारीका अन्य पदाधिकारी पनि फरार छन् ।
महानगरका अनुसार अभिमत सहकारीबाट ठगिएको भनेर एक हजार १८२ बचतकर्ताले उजुरी दिएका थिए । उजुरीपछि महानगरपालिकाले घटनाको आन्तरिक छानबिन गरेको थियो । अरू बचतकर्ता पनि ठगिएको हुन सक्ने भएकाले ठगी रकम अझै धेरै रहेको महानगरको अनुमान छ ।
‘अभिमतका दुई हजारभन्दा धेरै बचतकर्ता छन् । तीमध्ये कतिपयले अवैध धन पनि जम्मा गरेका छन् । सबै बचतकर्ताको जाहेरी आउने हो भने ठगीको रकम पाँच अर्बभन्दा माथि पुग्न सक्छ,’ महानगर स्रोतले भन्यो । महानगरबाट आएको सिफारिस सिआइबीले जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । अभिमतविरुद्ध विगतमै काठमाडौं परिसरले अनुसन्धान गरेकाले महानगरबाट प्राप्त थप विवरण पनि परिसरमै पठाइएको सिआइबीका एसएसपी होबिन्द्र बोगटीले बताए । परिसर प्रवक्ता एसपी अपिलराज बोहराले महानगरबाट आएको सिफारिससमेतलाई आधार मानेर अनुसन्धान भइरहेको बताए । ‘घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । जाहेरी आउने क्रम अझै पनि जारी छ । अनुसन्धानपछि मात्रै थप विवरणहरू भन्न सकिन्छ,’ उनले भने ।
बराह ग्रुपका सञ्चालक शिवकुमारकै नेतृत्वमा धरानमा सञ्चालित बराह सहकारीका बचतकर्ताको पौने ११ अर्ब हिनामिनामा व्यक्ति र पाँच कम्पनीसहित २६६ विरुद्ध बिहीबारै सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । शिवकुमारविरुद्ध मात्रै पाँच अर्ब ८८ करोड ४० लाख रुपैयाँ बिगो कायम गरिएको छ । उनले सहकारीको रकम विभिन्न कम्पनीमा लगेर खर्च गरेको अनुसन्धानमा खुलिसकेको छ ।
नमराज ढकाल, निर्देशक, काठमाडौं महानगर
अभिमत सहकारीले बचतकर्ताको रकम ठगी गरेको उजुरी हामीकहाँ आयो । महानगरबाट घटनाको छानबिन भयो । सहकारीले दुई अर्बभन्दा धेरै रकम अपचलन गरेको देखियो । घटनाको अनुसन्धान गर्न महानगरपालिकाले सिआइबीलाई सिफारिस गरेको छ । अनुसन्धान हुँदै होला ।