पाराएथलेटिक्स टोली भारत जाँदै

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

विश्व पाराएथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट ६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। भारतको नयाँदिल्लीमा यही मार्च ७ देखि १४ तारिखसम्म हुने उक्त प्रतियोगितामा पाँच पुरुष र एक महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।

पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउनेछन्। गोविन्दले ज्याभलिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला दुई सय, चार सय मिटर दौड र लङजम्पमा भाग लिनेछिन्।

‘अफिसियल’मा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी र प्रशिक्षकमा विमला रानामगर छन् । एक महिनाको अन्तरालमा नेपालले पाराएथलेक्टिसमा सहभागिता जनाएको यो दोस्रोपटक हो।

नेपालले गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबईमा भएको ग्रान्ड प्रिक्समा सहभागिता जनाएको थियो। खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला उक्त टोलीमा पनि थिए। दुबईमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुनः टोलीमा समावेश गरिएको राखेपले जनाएको छ। नेपाली टोली भोलि भारतको नयाँदिल्ली प्रस्थान गर्नेछ।
 

सुझावित समाचार