इतिहासमा आज

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

सन् १९५७ : घानाले बेलायतबाट स्वतन्त्रता घोषणा गर्यो । ब्रिटिस शासनबाट स्वतन्त्रता हासिल गर्ने पहिलो सब–सहारा राष्ट्र घानाका कदमले अन्य अफ्रिकी मुलुकको स्वतन्त्रता अभियानलाई प्रेरित गरेको थियो ।

सन् १८५७ : अमेरिकाको सर्वोच्च अदालतले ‘ड्रेड स्कट भर्सेस स्यान्डफोर्ड’ मुद्दामा अश्वेतहरू अमेरिकी नागरिक नभएको र तिनले संघीय अदालतविरुद्ध मुद्दा दायर गर्न नमिल्ने फैसला गर्यो । फैसलाले अमेरिकामा अभ्यास भइरहेको दासप्रथालाई कानुनी वैधता प्रदान गरेको थियो । संविधानको १३औँ (सन् १८६५) र १४औँ संशोधन (सन् १८६८)ले फैसलालाई उल्ट्यायो । 

सन् १८६९ : दिमित्री मेन्डेलिभले तत्वहरूको पहिलो पेरियोडिक टेबल रुसी रसायन समाजमा प्रस्तुत गरे । 

सन् १८९९ : फेलिक्स होफम्यानले चर्चित औषधि ‘एस्पिरिन’को प्याटेन्ट लिए । 

सन् १९०१ : ब्रेमेनमा तत्कालीन जर्मन केशर (राजा) विल्हेमको हत्या प्रयासमा उनको अनुहारमा गहिरो चोट लाग्यो । तथापि, उनी बाँच्न सफल भए । 

सन् १९४६ : फ्रान्सले ‘इन्डो–चाइनिज फेडेरेसन’ भित्र रहने गरी अलग भियतनामको गठन गर्यो । सो फेडरेसनका अन्य एकाइमा लाओस र कम्बोडिया थिए । 

सन् १९४७ : लेबर पार्टीले भारतलाई पूर्ण स्वतन्त्रता दिन लागेको अवस्थामा विस्टन चर्चिलले भारतमा बेलायतको कुनै प्रकारको उपस्थिति हुनुपर्ने वकालत गरे । 

सन् १९५३ : जोसेफ स्टालिनको निधनको एक दिनपछि गिओरगी म्यालेनकोभ सोभियत कम्युनिस्ट पार्टीका नेता तथा प्राइमर बने । हप्ता दिनमा पार्टीको नेतृत्वबाट हटाइए पनि प्राइमर पदमा दुई वर्ष रहे । 

सन् १९६४ : बक्सर लेजन्ड मोहम्मद अलीले ‘नेसन अफ इस्लाम’नामक पन्थ अँगाल्दै उनको पुरानो नाम क्यासियस क्ले परित्याग गरे । 

सन् १९९४ : रोमानियामा गाभिने–नगाभिने विषयमा मोल्दोभामा भएको जनमत संग्रहमा ९७.९ प्रतिशतले अलग रहने पक्षमा मत हाले । 

सन् २०१४ : क्रिमियाको स्वायत्त संसद्ले सो भूमिलाई रुसको हिस्सा बनाउने पक्षमा सर्वसम्मतले स्वीकृत गर्यो । निर्णयलाई जनअनुमोदन गराउन भन्दै मार्च १६ मा जनमत संग्रह घोषणा गरियो । 

सन् २०१७ : विकिलिक्सले सिआइएले गर्ने ह्याकिङ र निगरानी प्रविधिबारे खुलासा गर्ने दस्ताबेज ‘फल्ट–७’ सार्वजनिक गर्यो । 

सुझावित समाचार