अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले थालेको ‘तराई मधेश जागरण अभियान’ले मधेशको मसिहा ठान्नेहरू आतंकित भएको बताएका छन् । महोत्तरीको मटिहानीमा बुधबार उनले हुलाकी राजमार्गकेन्द्रित अभियानले मधेश जोड्दै गएपछि आफूलाई मधेशको महिसा ठान्नेहरू आतंकित हुन थालेको दाबी गरे ।
प्रचण्डले हुलाकी राजमार्ग पुनर्निर्माणको प्रक्रियामा माओवादीकै मुख्य पहलकदमी भएको र आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत सरकारसँग हुलाकी राजमार्ग निर्माणबारे खरो कुरा राखेपछि सुरु भएको बताए ।
प्रचण्डले आफू प्रधानमन्त्री भएका वेला महोत्तरीबाट सुक्खा बन्दरगाह निर्माणका लागि डेलिगेसन पुगेपछि तत्काल कार्य अगाडि बढाउन निर्देशन दिए पनि वर्तमान सरकारको समयमा सो प्रक्रिया रोकिएको बुझ्न आएको बताए । उनले मटिहानी शिक्षा, धर्म र संस्कृतिको सिद्धभूमि रहेको उल्लेख गरे ।