नेतृ एवं साहित्यकार डा. विन्दा पाण्डेको ‘भुइँमान्छे’ नामक कृति विमोचन भएको छ। झापाको सुखानी सहिद स्मृति पार्कमा बुधबार आयोजित कार्यक्रममा उक्त कृति विमोचन भएको हो।
लेखक डा. पाण्डेका अनुसार उक्त पुस्तक ०२८ को झापा विद्रोहदेखि ०४६ सालसम्म किसान, मजदुरहरूदेखि सर्वहारा वर्गले आन्दोलन सफल पार्न गरेको सहयोगमा आधारित छ। उनले पुस्तकमा ‘कोअर्डिनेसन’ केन्द्रदेखि माले हुँदै नेकपा (एमाले) सम्मको राजनीतिक यात्रा, आन्दोलन र सो बेला योगदान पुर्याउने कार्यकर्ताका बारेमा पुस्तकमा रहेको बताइन्।
कृति ५२औँ सुखानी स्मृति दिवसमा सहादतस्थल सुखानीमै विमोचन गरिएको उनले बताइन्। कृतिको विमोचन तत्कालीन नेकपा माले गठनका आश्रयदाता टेकबहादुर राई र कोकेका आश्रयदाता भक्तबहादुर आलेले गरेका थिए।
सांग्रिला प्रकाशन प्रालिको आयोजनामा भएको कृति विमोचन कार्यक्रममा झापा विद्रोहका योद्धा नरेश खरेल संविधानसभा सदस्य रविन कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
डा. पाण्डेका यसअघि आधा दर्जन कृति प्रकाशित भइसकेका छन्।