बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटकवाचन सुरु भएको छ। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार त्रिपिटकवाचन (पाठ) को उद्घाटन गरेका हुन्।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिरपरिसरमा त्रिपिटकवाचन सुरु गरिएको हो। उक्त अवसरमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको संकेत देखापरेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताए। उनले बुद्धको ज्ञानलाई पुनर्ताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने बताए।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धका उपदेशहरूलाई विश्वभर फैलाउन त्रिपिटक पाठ समारोह फलदायी हुने विश्वास व्यक्त गरे। उनले त्रिपिटक पाठ बुद्धका शिक्षाहरूको सन्देश फैलाउने माध्यम भएकाले यस्ता कार्यक्रमलाई अझ ठुलो संख्यामा गर्दै जानुपर्ने बताए। उनले थेराबाद, महायान र ब्रजयाना सबै एक जुट भएर बुद्धको उपदेशलाई संसारभर फैलाउन सकिने बताए। उनले बुद्ध दर्शनलाई विश्वले आत्मसाथ गरेको बताउँदै एक अर्बभन्दा बढी बुद्धिस्टहरूलाई लुम्बिनीमा आर्कषित गर्नुपर्ने बताए। लामाले लुम्बिनी शान्ति र बुद्धदर्शनको उत्पति भएको स्थान भएकाले यहाँबाट शान्तिको सन्देश फैलाउन सकिने बताए।
उद्घाटन समरोहमा आठौँ संघ नायक नेपालका भिक्षु बोधिसेन महास्थवीरले लुम्बिनी आउँदा आनन्द प्राप्त हुने बताए। उनले मायादेवी मन्दिरको नामको सट्टा बुद्धभूमि राख्दा त्यसले विश्वभर सन्देश जाने बताए। उनले त्रिपिटक पाठ यहाँ गर्दा मायादेवीभन्दा त्यसले लुम्बिनीलाई ओझेलमा पारेको बताए।
यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लुम्बिनी क्षेत्र अँध्यारो देखिएको बताए। मायादेवीपरिसरसहितको क्षेत्रलाई ‘स्प्रिच्युल लाईटिङ’ बनाउने प्रतिबद्धता जनाए। ‘लुम्बिनी अध्यारो देखिन्छ, मायादेवीसहितको क्षेत्र जहाजबाट हेर्दा पनि धपक्क बलेको होस्, त्यस्तो बनाउन लुम्बिनी विकास कोषले योजना ल्याओस्, सहकार्य गर्न तयार छौँ,’ उनले भने।