सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाहरूका तस्बिरअंकित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाएका छन् । झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध ०२८ मा युवा विद्यार्थीले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र धरपकड गर्ने क्रममा जेलमा राखिएकामध्ये पाँच युवालाई सुखानी जंगलमा हत्या गरिएको थियो ।
झापाको चन्द्रगढीस्थित जेलबाट इलाम लैजाने बहानामा ०२९ फागुन २१ गते साँझ सुखानी जंगलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई गोली हानी हत्या गरिएको थियो । उनीहरूको बलिदानीप्रति नेपालको कम्युनिस्ट आन्दोलनमा उच्च आदरसहित सम्मान गरिँदै आइएको छ ।
संघीय सरकारले उनीहरूलाई ०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । यसअघि ०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक पीडित सहायता समितिले उहाँहरूका परिवारलाई राहत उपलब्ध गराएको थियो । सुखानी सहिदहरूको तस्बिरअंकित हुलाक टिकटको मूल्य १० तोकिएको छ ।
हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले नेपाली जनताको स्वतन्त्रता, समानता र हकअधिकारका लागि आवाज उठाउँदा सुखानीको जंगलमा हत्या गरिएकालाई राष्ट्रिय सहिद घोषणा गर्दै हुलाक टिकट प्रकाशनमा ल्याउनु महत्त्वपूर्ण कार्य भएको बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्र ठाकुरले हुलाक टिकटमा समेटिएका विषयवस्तुले भौगोलिक, जातीय र सांस्कृतिक पृष्ठभूमिलाई युगौँयुगसम्म अध्ययन र अनुसन्धान गर्न महत्त्वपूर्ण योगदान दिने धारणा राखे। उनले भने, ‘झापाको सुखानीमा सहादत प्राप्त गर्नुहुने अमर सहिदको वीरताको गाथालाई हुलाक टिकट प्रकाशन भएबाट सदासर्वदा स्मरण गराउनेछ ।’
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई (पंगेनी)ले हुलाक टिकटमा समेटिएका ऐतिहासिक धरोहर, सम्पदा, प्रकृति, संस्कृति, पुरातात्त्विक सम्पत्ति र इतिहासका विभिन्न कालखण्डमा राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान दिने व्यक्ति र व्यक्तित्वको पहिचान स्थापित हुने धारणा व्यक्त गरे ।
नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदार प्रधानले हुलाक टिकटमा अंकित तस्बिरले सहिदको योगदानको देश–विदेशमा समेत पहिचान र स्मरण भइरहने विचार प्रकट गरे ।