आगामी चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उदयपुरबाट नियमित र ग्रेडवृद्धि गरी जम्मा पाँच हजार ८८९ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरका अनुसार छात्रातर्फ तीन हजार ५७ र छात्रतर्फ दुई हजार ८३२ जना सहभागी हुने भएका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरका परीक्षा शाखा प्रमुख अर्जुन कार्कीका अनुसार जिल्लामा एसइईका लागि २७ वटा परीक्षा केन्द्र तोकिएको छ । कार्कीले जिल्लाको त्रियुगा मावि गाईघाट, त्रिवेणी मावि कटारी, ज्योति मावि बेल्टार, जनता मावि गुरुङचौरी, अम्बेर जनता मावि राजाबासलगायतका २६ विद्यालयमा २७ वटा केन्द्र तोकिएको जानकारी दिए ।
जिल्लाका विद्यालयहरूमध्ये त्रियुगा मावि गाईघाटबाट २१९ जना र प्राविधिक धारका ३० जना गरी २४९ जनाले एसइईमा भाग लिनेछन् भने सबभन्दा कम बेल्टार ज्योति माविमा केन्द्र रहेको बुद्ध निकेतन इंग्लिस बोर्डिङ स्कुलबाट चारजनाले मात्र एसइई दिनेछन् । जिल्लाभरकै प्राविधिक धारतर्फको परीक्षा केन्द्र जनता मावि देउरीलाई कायम गरिएको छ । जसमा प्राविधिक धार अध्यापन पन हुने जिल्लाका सबै विद्यालयको परिक्षा केन्द्र रहेको छ । जिल्लामा त्रियुगा मावि गाईघाट, त्रिवेणी मावि कटारी, नारद आदर्श मावि बसाहा, महेन्द्र रत्न मावि रूपाटार, जनता मावि गुरुङचौरी, क्यापरारा मावि बलम्ता र मावि मुकुर्चीको गरी १५० जना प्राविधिक धारका विद्यार्थीले परीक्षामा सहभागिता जनाउनेछन् ।
त्यसैगरी, अम्मेबर जनता मावि राजबासमा ग्रेडवृद्धि तर्फका विद्यार्थीलाई परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेडवृद्धितर्फका ७१९ जना विद्यार्थीलाई क र ख गरेर दुई परीक्षा केन्द्र कायम गरिएको कार्कीले जानकारी दिए ।