निजामती प्रशासनमा कार्यसम्पादन मूल्यांकनको प्रभाव कस्तो हुन्छ ?
अहिले हामीकहाँ चलिरहेको कर्मचारीको कार्यसम्पादन मूल्यांकन प्रणाली पटक्कै वैज्ञानिक छैन । सबैभन्दा पहिले यसलाई वैज्ञानिक बनाउन जरुरी छ । यो प्रणाली वैज्ञानिक नहुँदा काम गर्नेले जति अंक पाउँछ, काम नगर्ने, छलछाम गर्नेले पनि उति नै अंक पाउने अवस्था छ । कार्यसम्पादन मूल्यांकनका ‘मेजरमेन्ट टुल्स’ पटक्कै प्रभावकारी छैनन् । कसले कुन–कुन काम गर्यो भन्ने कागजमा प्रस्ट देखिने अवस्थामा आएमा मात्र मूल्यांकन प्रभावकारी हुन सक्छ । र, त्यसले मात्र कर्मचारीमा काम गर्ने उत्साह जगाउन र ऊर्जा भर्न सक्छ ।
यस्तो मूल्यांकनका निश्चित आधार छन् कि छैनन् ?
अन्य देशले यस्तो मूल्यांकनका अनेकौँ मोडेल प्रचलनमा ल्याइसकेका छन् । तर, हामीचाहिँ अझै पनि पुरानै अवैज्ञानिक मोडेलमै अल्झिरहेका छौँ । अब हामीले पनि विश्वमा प्रचलितमध्ये हाम्रा लागि सबैभन्दा उपयुक्त मोडेल छनोट गरी अपनाउनुपर्छ । हामीकहाँ तीन तहबाट कार्यसम्पादन मूल्यांकन गर्ने चलन छ । यो नै गलत छ । कुनै पनि कर्मचारीले कस्तो काम गर्छ भन्ने कुरा उसको ‘इम्मिडेट बोस’लाई मात्र थाहा हुन्छ । त्यसैले, कर्मचारीको कार्यसम्पादन मूल्यांकनको सम्पूर्ण अधिकार उसको ‘सुपरभाइजर’लाई दिनुपर्छ । त्यसका लागि उसलाई मूल्यांकनका प्रस्ट र वैज्ञानिक आधार पनि दिनुपर्छ ।
यसमा मूल्यांकनकर्ताको पूर्वाग्रहले प्रभाव पार्न सक्छ कि सक्दैन ?
किन नपार्नु, अत्यन्त धेरै प्रभाव पार्छ नि । जब मूल्यांकनको आधार नै वैज्ञानिक छैन भने मूल्यांकनकर्तालाई जे ठिक लाग्छ, त्यही गर्न सक्छ । यस्तो अवस्थामा उसको आग्रह र पूर्वाग्रहले मूल्यांकनको नतिजामा ठुलो प्रभाव पार्छ ।