सत्तारूढ कांग्रेस र एमालेले बुधबारको प्रतिनिधिसभा बैठकमा पाँच अध्यादेश पारित गरिने भएकाले अनिवार्य उपस्थितिका लागि आफ्ना सांसदहरूलाई ‘ह्विप’ जारी गरेका छन् । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूलाई मंगलबार एसएमएस गरेर अध्यादेशका पक्षमा उभिन ह्विप लगाएका हुन् । ‘फागुन २१ गते दिउँसो १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,’ प्रमुख सचेतक घिमिरेले पठाएको एसएमएसमा उल्लेख छ ।
यस्तै, एमाले संसदीय दलको मुख्य सचेतक महेश बर्तौलाले मंगलबार आफ्ना सांसदलाई सन्देश पठाउँदै बुधबारको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएका छन् । सांसदलाई पठाइएको सन्देशमा भनिएको छ, ‘भोलि १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने भएकाले अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ ।’
गत शुक्रबार कांग्रेस र एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सरकारलाई समर्थन गरेका जसपा र लोसपासँग छलफल नै नगरी सबै अध्यादेश संसद्मा पेस गर्ने निर्णय गरेको थियो । त्यसपछि दुई दल थप चिढिएका थिए । अध्यादेश विवादकै कारण लोसपाले त सरकारमा सहभागी आफ्ना एक मात्र मन्त्री शरत्सिंह भण्डारीलाई फिर्ता गर्नुपर्ने अवस्था आउने भन्दै अलर्ट राखेको थियो । त्यस्तै, आइतबारदेखि सुरु जसपा केन्द्रीय समिति बैठकमा सरकारलाई दिएको समर्थन नै फिर्ता लिनेसम्मको बहस चलेपछि कांग्रेस–एमाले भूमि अध्यादेश रोक्न बाध्य भएका थिए । मंगलबार सकिएको जसपा बैठकले पनि पाँच अध्यादेश मात्र अघि बढाउने निर्णयलाई समर्थन गरेको छ ।
प्रतिनिधिसभामा दुईतिहाइ मत भए पनि प्रतिनिधिसभामा कांग्रेस–एमालेसँग बहुमत पनि छैन । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० मत चाहिन्छ । तर, कांग्रेसका १६ र एमालेका ११ गरी २७ मात्रै छन् । सरकारमा सहभागी लोसपाको १ सिट छ । यो अवस्थामा अध्यादेश पास गर्न कांग्रेस–एमालेलाई राष्ट्रिय सभामा तीन सिट रहेको जसपाको समर्थन अनिवार्य छ । जसपाले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन गर्दै आए पनि भूमि अध्यादेशमा समर्थन नगर्ने निर्णय लिएको छ ।
विपक्षी दलहरूले अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने
विपक्षी दलहरूले प्रतिनिधिसभामा अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने भएका छन् । त्यसका लागि विपक्षी दलका सांसदहरूले सूचना दर्ता गरिसकेका छन् । बुधबारको बैठकमा भानुभक्त जोशी, स्वर्णिम वाग्ले, माधव सापकोटा, रणेन्द्र बराली र चन्दा कार्कीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । ‘हामीले अस्वीकार गर्ने सूचना दर्ता गरिसकेका छौँ । त्यहीअनुसार प्रस्तुत हुन्छौँ,’ माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने । यसअघि विपक्षी सात दलको संयुक्त बैठकले अध्यादेश अस्वीकृत गर्ने निर्णय गरेको थियो ।