जुम्लामा बर्थिङ सेन्टरमा सुत्केरी हुने बढ्दै

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

जिल्लामा पछिल्लो समयमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्या वृद्धि हुँदै गएको छ । यहाँको तिला गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा सञ्चालन गरिएका बर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्या बढ्न थालेकाे हाे ।

पालिकाका पाँच स्वास्थ्य चौकीमध्ये तीनवटा स्वास्थ्य चौकीको अघिल्लो तीन वर्षको सार्वजनिक तथ्यांकअनुसार बर्थिङ सेन्टरमा करिब दुई सयभन्दा बढी सुत्केरी भएका छन् ।

तीन वर्षको तथ्यांकअनुसार जुम्लाकोटकाे बर्थिङ सेन्टरमा सबैभन्दा बढीले सुत्केरी सेवा लिएका छन् । आव ०७९/८० मा ३७, आव ०८०/८१ मा ३३ र चालू आवको माघसम्म २६ जना बर्थिङ सेन्टरमा सुत्केरी भएका स्वास्थ्य चौकीका इन्चार्ज विराजु जिसीले जानकारी दिए । 

यस्तै तिला– ९ मा रहेको रासा स्वास्थ्य चौकीमा आव ०७९/८० मा १९, आव ०८०/८१ मा १८ र चालू आवको माघसम्म ६ जनाले सेवा लिएका स्वास्थ्य चौकीका इन्चार्ज दत्त रावतले जानकारी दिए । उनका अनुसार दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । पालिकाले स्थायी दरबन्दीमा करार नियुक्ति गर्दै आएको रासा स्वास्थ्य चौकीले जनाएको छ ।

रारालिही स्वास्थ्य चौकीका अधिकृत हिमाली खत्रीका अनुसार आव ०७९/८० मा ४० र गत आवमा २२ जनाले बर्थिङ सेन्टरबाट सेवा लिएका छन् । चालू आवको माघसम्म सेन्टर बन्द हुँदा सुत्केरी सेवा लिनबाट बन्चित भएका उनको भनाइ छ ।

स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने प्रमुख लक्ष्य र संकल्प रहेको स्वास्थ्य कार्यालयले बताएका छन् । ‘बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेका कुरुवालाई खानासहितको व्यवस्थापन गरिएको छ । भौतिक संरचनालाई प्रयोगमा ल्याएर सेवा प्रवाहलाई जनमुखी बनाइएको छ,’ जुम्लाकोट स्वास्थ्य चौकीका इन्चार्ज जिसीले भने ।

उनका अनुसार स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिन पालिकाको स्वास्थ्य शाखामा पुगेर औषधि ल्याउने गरिएको छ । जटिल अवस्थाका सुत्केरीलाई व्यक्तिगत लगानीमा सदरमुकाम पठाउने गरेको इन्चार्ज जिसीले बताए ।

‘पालिकाले स्वास्थ्य चौकीका लागि तोकेर आवश्यक बजेट विनियोजन गरेको छैन । गुणस्तरीय स्वास्थ्य सेवा दिन वडा कार्यालय र स्थानीय सरकारले विशेष पहल गर्नुपर्दछ,’ उनले भने । रासस

सुझावित समाचार