ब्रेन ट्युमर रोगबाट ग्रसित रौतहटका सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालिले ५० हजार आर्थिक सहयोग गरेको छ । सञ्चारकर्मी महतलाई सो अस्पतालले निःशुल्क सेवासमेत दिने बताएको छ ।
मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमबिच अस्पतालका सञ्चालक डाक्टर सुवास चौधरीले सञ्चारकर्मी महतलाई ५० हजारको चेक हस्तान्तरण गरे । विगत लामो समयदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित सञ्चारकर्मी महतलाई अस्पतालले अस्पतालबाट हुने सेवा निःशुल्क रूपमा प्रदान गर्ने डाक्टर चौधरीले जानकारी दिए।
अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको एक दिनको तलबबापतको रकम सञ्चारकर्मी महतको उपचारमा सहयोग पुगोस् भन्ने हिसाबले आफूहरूले प्रदान गरेको अस्पतालका डाक्टर चौधरीको भनाइ छ। रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीले सञ्चारकर्मी महतको उपचारमा सबैले सहयोग गरिदिन आग्रह गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा रौतहटका सञ्चारकर्मीहरूको सहभागिता थियो । आर्थिक रूपमा विपन्न रहेका सञ्चारकर्मी महत विगत लामो समयदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका छन् ।
रौतहट जिल्लालाई कार्यक्षेत्र बनाएर विगत दुई दशकभन्दा बढी समयदेखि काम गरिरहेका सञ्चारकर्मी महतले विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका छन् ।