पहिलोपटक निजगढको गौरीशंकर क्याम्पसमा स्ववियु निर्वाचन हुँदै, निर्वाचनका लागि तीनवटा संगठन दर्ता

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

निजगढ नगरपालिका– ९ स्थित गौरीशंकर क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि तीनवटा संगठनले दर्ता गरेका छन् । निर्वाचन अधिकृत गोविन्द अधिकारीले दिएको जानकारीअनुसार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन दर्ता गराएका हुन् । 

अनेरास्ववियु नेकपा एमाले, नेविसंघ नेपाली कांग्रेस र क्रान्तिकारी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन हुन । अनेरास्ववियुले पहिलो नम्बरमा, नेविसंघले दोस्रो नम्बर र क्रान्तिकारीले तेस्रो नम्बरमा संगठन दर्ता गराएका छन् । 

केन्द्रीय अनुगमन तथा समन्वय समितिको निर्वाचन कार्यतालिकाअनुसार दर्ता भएका संगठनहरू मात्रै स्ववियु निर्वाचनमा सहभागी हुन पाउनेछन् । समितिको कार्यतालिकाअनुसार क्याम्पस प्रशासनले सोमबार ३ बजेसम्मका लागि विद्यार्थी संघ, संगठन, समूह दर्ताका लागि समय तोकेको थियो । 

निर्वाचन अधिकृत अधिकारीका अनुसार क्याम्पसमा ४६८ छात्रछात्रा छन् । केन्द्रीय निर्वाचन तालिकाअनुसार हिजो १९ गते संगठन दर्ता, फागुन २१ गते मतदाता नामावली सार्वजनिक, फागुन २५ गते मतदाता नामावलीमा दाबी–विरोध, फागुन २६ गते मनोनयनपत्र वितरण हुनेछ ।  

त्यसैगरी, फागुन २७ गते मनोनयन दर्ता, फागुन २८ गते उम्मेदवारको नामावलीमा दाबी–विरोध, फागुन २९ गते उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । निर्वाचनका लागि फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाइनेछ । चैत २ गते राति १२ बजेपछि मौन अवधि सुरु हुनेछ । 

बारा जिल्लामा नै पहिलोपटक निजगढ नगरपालिकाको गौरीशंकर क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो ।
 

सुझावित समाचार