पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तकको सोमबार लोकार्पण गरेकी छिन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा भण्डारीले पुस्तकको लोकार्पण गरेकी हुन् ।
अल्केमी प्रकाशनले तयार गरेको पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वका लेख–रचना समावेश गरिएको छ । पुस्तकको प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले सम्पादन गरेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली मुलुकको सामाजिक आर्थिक समृद्धि अभियानको कुशल नेतृत्वकर्ता र स्वप्नद्रष्टा भएको बताइन् । ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरता, कोरोना महामारी नियन्त्रणका लागि खेल्नुभएको भूमिकालगायतमा देखिएको उहाँको हुटहुटी मैले नजिकबाट नियालेको छु,’ उनले भनिन् ।