चूडामणि शर्माको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रमाण झिकाउन आदेश दिएको छ। न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले प्रमाण झिकाउन र लगाउका मुद्दाहरू साथमा राखेर पेस गर्न भनेको हो।
शर्माले नेपालगन्जस्थित माछापुच्छ्रे बुक्स एन्ड स्टेसनरी सेन्टरमार्फत पुस्तक बिक्री गरी आ.व २०५८/०५९ देखि नै आयआर्जन गरेको आय विवरणमा देखाएका थिए। ‘तर, उक्त पसल २०६२ साउन ४ देखि मात्र दर्ता भई कारोबार गर्न सुरु गरेको भनी वादी पक्षको जिकिर लिएको हुँदा २०६२ साउन ४ भन्दा पहिलेदेखि कारोबार गरेको देखिने कर बुझाएको प्रमाण वा अन्य कुनै लिखत प्रमाण भए माछापुच्छ्रे बुक्स एन्ड स्टेसनरी सेन्टरबाट झिकाउने,’ आदेशमा भनिएको छ।
साथै, नेपालगन्जकै पर्वत पुस्तक पसल एन्ड अर्डर सप्लायर्सको मसेत दर्ता भई कारोबार गरेको वा कर कार्यालयमा कर दाखिला गरेको प्रमाणसमेत झिकाउन सर्वोच्चले आदेश दिएको छ।
राजस्व चुहावट मुद्दामा दोषी ठहर भएका शर्मालाई विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनमा सफाइ दिएपछि अख्तियार दुरुपयोग आयोग सर्वोच्च गएको थियो।
२३ साउन २०४५ मा सार्वजनिक सेवा प्रवेश गरेका शर्माले २९ मंसिर ०७३ मा सम्पत्ति विवरण पेस गर्दा तीन करोड ६३ लाख ७२ हजार नौ सय ६१ रुपैयाँ आम्दानी देखिन्छ। खर्च तथा लगानी सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ देखिएको अख्तियारको दाबी छ।
सो अवधिको शर्माको खर्च र आम्दानीको तुलना गर्दा आयभन्दा बढी खर्च तथा लगानी चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँको सम्पत्तिको स्रोत नखुलेको दाबी अख्तियारको छ।
