आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि धवलागिरि बहुमुखी क्याम्पस बाग्लुङमा ९ वटा संघ संगठन दर्ता भएका छन्। सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो। सो समयमा क्याम्पसका विभिन्न विद्यार्थी संगठनसहित ९ वटा संगठन र समूह दर्ता भएको निर्वाचन अधिकृत गोविन्दराज गौतमले जानकारी दिए।
गौतमका अनुसार विद्यार्थी रेखा शर्माले अखिल छैटाैँ, रुद्रबहादुर पुनले अखिल क्रान्तिकारी, गणेशप्रसाद आचार्यले डिएमसी विद्यार्थी समूह र विशेष पराजुलीले नेविसंघ दर्ता गरेका छन्। त्यसैगरी, सुधन विकले अखिल नेपाल विद्यार्थी युनियन समाजवादी, विनोद कार्कीले अनेरास्ववियु, विरोश क्षेत्रीले स्वतन्त्र विद्यार्थी समूह, होम कुँवरले राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन र जीवन शर्माले अखिल संयुक्त प्यानल दर्ता गरेको निर्वाचन अधिकृत गौतमले जानकारी दिए।
निर्वाचन समितिले केन्द्रीय निर्वाचन कार्यतालिकाअनुसार नै सोमबार संघ संगठन दर्ता गरेको र अन्य तालिकाका विषयमा मंगलबार संघ संगठनबिच बैठकमा छलफल गरिने बताएको छ।
त्रिभुवन विश्वविद्यालयले निकालेको केन्द्रीय निर्वाचन तालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ मा मतदाता सूचीउपर दाबी विरोध गर्ने समय रहेको छ। त्यसैगरी, फागुन २५ गते नै मतदाता सूचीउपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ।
फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयनपत्र नामावली दाखिला गर्ने समय फागनु २७ लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ। सोही दिन नै दुवैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ।
दुवैतर्फको उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ। त्यसैगरी, उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ। मतदान चैत ५ गते बिहान ८ बजेदेखि हुनेछ।