राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट संकलित नमुना परीक्षण गर्दा ब्याक्टेरिया र भाइरसको समस्या बढी देखिएको छ। जैविक सुरक्षाको अभावमा यी संक्रमण देखिएका हुन्।
प्रयोगशालाले साउनयता ६ महिनामा एक हजार २८५ किसानको दुई हजार १७५ कुखुराको शव परीक्षण गरी रोगको परीक्षण गरेको थियो। कार्यालयका प्रमुख विजयकुमार श्रेष्ठका अनुसार वातावरणमा हुने ब्याक्टेरियाका कारण इकोलाई २९५, गम्बारो भाइरस १६८, सिआरडी ब्याक्टेरिया १५४, ढुसी (माइक्रोटक्सिन) ११२ र साल्मोनेला ब्याक्टेरिया ७२ वटामा देखिएको छ।
यस्तै, एसआइटिएस (पेटमा पानी जम्ने) ५९, सिसिआरडी ब्याक्टेरिया ४१, फाउल कलेरा (कुखुराको हैजा) २५, कक्सी डियोसिस (रातो छेर्ने) १९, जुका १४ र रानीखेत आठवटामा देखिएको थियो। यही अवधिमा चारवटा खोरका ‘ब्वायलर’ कुखुरामा एच ९ देखिएको थियो। यी रोगका कारण शतप्रतिशतसम्म मृत्यु हुने भएकाले जैविक सुरक्षा अपनाउनुपर्ने उनको भनाइ छ।
रानीखेत, बर्डफ्लुजस्ता कारण शतप्रतिशत कुखुरा मर्ने गर्दछन्। गम्बारो २० प्रतिशत, एच ९ ले ५० प्रतिशत कुखुरा मर्ने भन्दै उनले समयमा नै सतर्कता अपनाउन कृषकहरूलाई सुझाव दिएको बताए। फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउँछन्। बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसंक्रमिण गर्नुपर्ने हुन्छ।
मौसम परिवर्तनको समय भएकाले बर्डफ्लुको समेत उच्च जोखिम हुने हुँदा देशैभरका कुखुरापालक कृषकले ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ। यस कार्यालयले देशैभरिका पन्छीका नमुना लिएर परीक्षण गर्ने गर्दछ। यस वर्षको पुससम्ममा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १६ जिल्लामा पालिएका पन्छीहरूको नमुना परीक्षण गरिएको उनले जानकारी दिए। धेरै कुखुरा चितवनमा पालिएको र कार्यालय यही भएकाले बढी नमुना चितवनका रहेका छन्।