वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका– ५ पथरी घर भई ललितपुर महानगरपालिका– २७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका– ५ कमदी घर भई काठमाडौं महानगरपालिका– १४ बस्ने ५२ वर्षीय पशुपति खत्री रहेका छन्।
पक्राउ परेकामध्ये भूमिकाले पोल्यान्ड पठाइदिन्छु भन्दै तीनजनाबाट ११ लाख रुपैयाँ र पशुपतिले एकजनाबाट दुई लाख २३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भूमिकालाई सुनाकोठीबाट आइतबार र पशुपतिलाई सतुंगलबाट शनिबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।