दुग्ध उत्पादक किसानले सरकारले तोकेको दुधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दुधले बजारसँगै मूल्य पाउन नसकेको हो । निजी डेरीहरूले कम मूल्यमा दुध लैजाने गरेको उनीहरूको भनाइ छ ।
विकल्प नहुँदा सस्तोमा दुध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दुधलाई कार्यालय सञ्चलान मूल्यबाहेक रु. ६५ प्रतिलिटर तोकेकोमा उनीहरूले यस मूल्यमा रु. ३ कम गरेर लैजाने गरेको जानकारी दिए ।
उनले भने, ‘दुधको आयात नरोकिँदा उनीहरूले दुध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका हुन् ।’ अहिले दुध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन् । जिल्लामा रहेका ११५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठुला दुग्ध उत्पादक कम्पनीले दुध लाने गरेको भए पनि राज्यले तोकेको मूल्यभन्दा कममा दुध बेच्न बाध्य भएको उनले बताए ।
जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर दुध जिल्लाबाहिरका उद्योगले खपत गर्ने गरेका छन् । विगत ६ महिनादेखिको दुधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यामा दुध नपाए भोलिबाट दुध लिन आउँदिनँ भन्ने गरेको उनले भने ।
भुक्तानी माग्दा दुध लिन नआउने डरमा किसान रहेको उनको भनाइ छ । अहिले जिल्लाका किसानले रु. ८० करोडभन्दा बढी भुक्तानी पाउन सकेका छैनन् । भदौ देखियता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन । संस्थानको रु. ३५ करोड भुक्तानी हुन बाँकी रहेको उनले बताए । जिल्लामा अहिले ४० हजार बढी दुग्ध उत्पादक किसान रहेका छन् । उनीहरूको समस्या समाधानका लागि राज्यले चासो नदेखाउँदा किसान चिन्तित बनेका छन् ।