जनतासँग माओवादी : तराई–मधेश जागरण अभियानमा निस्केको माओवादी शीर्ष नेतृत्वसँग स्थानीयले हत्या, हिंसा, विभेद, सहकारी ठगी, मिटरब्याज, प्रहरी प्रशासन निष्पक्ष नभएकोदेखि पहिचान र विकास निर्माणसम्मका विषय उठाएका छन् । गत १२ फागुनदेखि सुरु अभियानको क्रममा आइतबारसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र धनुषाका जनताले माओवादी नेतृत्वलाई गुनासा र सुझाव सुनाएका छन् ।
‘झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहादेखि धनुषासम्मको अभियानमा सबैभन्दा बढी उठेको कुरा हत्या–हिंसाकै विषय छ,’ अभियानमा सहभागी माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले आइतबार साँझ नयाँ पत्रिकासँग भने, ‘हत्या–हिंसाको सवालमा राम्रोसँग कारबाही नभएको बढी भन्ने उठेको छ । पहिचानको विषयदेखि मिटरब्याज, सहकारी ठगी र विकास निर्माणका मुद्दा पनि जनताले उठाएका छन् । कहीँ पुल, कहीँ तटबन्ध निर्माण र कहीँ बाटो पिच गर्नुपर्ने मुद्दा छन् । शिक्षा र स्वास्थ्यको विषय पनि जनताले उठाएका छन् ।’
सामाजिक रूपमा हुने अन्याय, अत्याचार, शोषण र दमनको विषय पनि जनताले उठाएका छन् । अभियानको क्रममा सयौँ जनताले मौखिक र दर्जनौँ संघसंस्थाले ज्ञापनपत्रमार्फत मुद्दाहरू स्मरण गराउँदै समाधानका लागि आग्रह गरेका छन् । समस्या समाधानको पहलकदमी लिन माओवादी नेतृत्वलाई जनताले सुझाव दिएको प्रवक्ता सापकोटा बताउँछन् ।‘प्रत्यक्ष भेटमा जनताले बोलेर आवाज उठाएका छन् । कतै लेखेर सुझाव दिएका छन् । ज्ञापनपत्र पनि दिएका छन् । बहुआयामिक ढंगले जनताले समाधान गर्नुपर्ने मुद्दाहरू उठाएका छन्,’ सापकोटाले भने ।’
सापकोटाका अनुसार जनताकेन्द्रित अभियानमा विभिन्न तरिकाले संवाद भैरहेको अनुभव सुनाए । ‘अहिले चलेको अभियान जनताकेन्द्रित हो । जनतामा जाँदा नेता–कार्यकर्ता समेटिने मात्रै हो । अभियानका क्रममा घरदैलो गरियो । दलित बस्ती, मुसहर बस्ती, आदिवासी राजवंशी र छन्त्याल बस्तीहरूमा बस्यौँ । सभाहरू, कोणसभा र भेटघाट भए । नागरिक समाजसँग अन्तक्र्रिया पनि भयो,’ सापकोटाले भने, ‘अभियानको क्रममा कांग्रेस–एमालेबाट जितेका नगरप्रमुख, पालिका अध्यक्षहरूले पनि हृदयदेखि नै स्वागत गरे । धेरैवटा नगरपालिका÷गाउँपालिकामा अन्तक्र्रिया गर्यौँ । उद्योग वाणिज्य संघ, विभिन्न सामाजिक संघसंस्थाहरूसँग पनि अन्तक्र्रिया कार्यक्रम ग¥यौँ । सहिद परिवार र बेपत्ता परिवारका गुनासा र सुझाव पनि सुन्यौँ ।’
हरेक दिन बिहान करिब डेढ घण्टा मर्निङ वाकमा पनि भेटघाट र गुनासो सुन्ने काम माओवादी शीर्ष नेताले गरेका छन् । ‘मर्निङ वाकमा सरासर हिँडेनौँ । बाटोमा जनतासँग कुराकानी ग¥यौँ । सहिद परिवार, बेपत्ता परिवार, दीनदुःखी, अन्यायमा परेका र पीडामा छटपटाइरहेकालाई पनि भेटेर उनीहरूका गुनासा र सुझाव लियौँ ।’ उनका अनुसार अभियान हरेक दिन बिहान साढे ५ बजेदेखि बेलुका आठ–नौ बजेसम्म चल्दै आएको छ ।
अभियानका क्रममा आएका गुनासा र सुझाव संघीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभामा उठाउने माओवादी नेताहरूले बताएका छन् । त्यसका साथै सरकारका विभिन्न निकायमा दबाब दिने तयारी छ । अभियानको क्रममा जनताका गुनासा सुनेपछि माओवादी नेतृत्वले विभिन्न निकायमा फोन गरेर तत्काल समाधानको पहल पनि गरेको छ । हत्या, हिंसाबारे सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरूसँग छलफल भएको माओवादीले जनाएको छ । सिराहामा १७ वर्षीया बालिकाको बलात्कारपछि शंकास्पद हत्या र कतिपय ठाउँमा विवाह गरेपछि दमन गरेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी र एसपीलगायतसँग प्रचण्डले छलफल गरेको प्रवक्ता सापकोटाले बताए । जनताका समस्या एक–एक गरी समाधानको पहल गर्ने माओवादीले जनाएको छ ।
अभियानको अहिलेसम्मको अवस्था समीक्षा गर्न माओवादीले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । यसका लागि अभियानमा गएका नेता राजधानी फर्किएका छन् । ‘चुनावमा आश्वासन दिएजस्तो होइन । जनताले दिएका सुझाव र गुनासाका साथै ज्ञापनपत्रको औपचारिक बैठकमै अध्ययन गर्छौँ,’ उनले भने, ‘सम्बोधनका लागि सरकारलाई घच्घच्याउने, संघ र प्रदेशका सदनमा आवाज उठाउने, टोली बनाएरै विभिन्न निकायमा लागू गर्न दबाब दिने र त्यति हुँदा पनि सुनुवाइ भएन भने संघर्ष गरेरै भए पनि जनताका गुनासा र सुझाव सम्बोधन गर्नेछौँ ।’
अग्नि सापकोटा, माओवादी
उपाध्यक्ष एवं प्रवक्ता
झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहादेखि धनुषासम्मको अभियानमा सबैभन्दा बढी उठेको कुरा हत्या–हिंसाकै विषय छ । हत्या–हिंसाको सवालमा राम्रोसँग कारबाही नभएको भन्ने बढी गुनासो छ । पहिचानको विषयदेखि मिटरब्याज, सहकारी ठगी र विकास निर्माणका मुद्दा पनि जनताले उठाएका छन् । कहीँ पुल, कहीँ तटबन्ध निर्माण र कहीँ बाटो पिच गर्नुपर्ने मुद्दा छन् । शिक्षा र स्वास्थ्यको विषय पनि जनताले उठाएका छन् ।